२०८१ मंसिर ११, मङ्गलवार , ०३:१७:३४ बजे

Sajhamanch
'

सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा छोराछोरीको उपचार खर्च पनि बेहोर्ने

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीले समेत स्वास्थ्य उपचारको सुविधा पाउने भएका छन् ।

सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष ननाघेका छोराछोरीका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए।

कार्यकारी निर्देशक अधिकारीले कोषमा हिजो सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार ७६७ रोजगारदाता र पाँच लाख ४३ हजार ३८८ श्रमिक आबद्ध भएका जानकारी दिए।

उनले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र उनीहरूका परिवारलाई भुक्तानी गरिसकेको पनि बताए।

कोषका कार्यकारी निर्देशक अधिकारीले कोषको दायरा विस्तारका लागि कोषको केन्द्रीय कार्यालयका साथै विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको जानकारी दिए।

यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि कार्यालय स्थापना गर्ने योजना रहेको कोषले जनाएको छ । यी कार्यालय स्थापनापछि कोषको सात वटै प्रदेशमा पहुँच पुग्नेछ ।

सामाजिक सुरक्षा कोषमा अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको सङ्ख्या ९० वटा छ ।

मङ्गलवार, मंसिर ११, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर