२०८१ पौष १२, शुक्रवार , १२:५७:४९ बजे

Sajhamanch
'

आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ ।

ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि भोलि मङ्सिर १२ गते ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् । पर्सि ऋणपत्र निष्कासन हुनेछ ।

यो ऋणपत्रको अवधि तीन वर्षको हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । कात्तिकसम्म १ खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण उठाएको छ । बजेट अनुसार बाँकी आठ महिनामा सरकारले १ खर्ब ८६ अर्ब आन्तरिक र १ खर्ब ९५ अर्ब २८ करोड रुपैयाँ बाह्य ऋण उठाउनुपर्छ ।

चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यससँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण कुल २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित खबर