बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम गरिएको छ ।
निर्माणाधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर एवम् सो विद्यालयका शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाले आफ्नो जीवन बर्बाद बनाएको बताइन् । उनले लागुऔषध, मादक पदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनुपर्ने आवश्यकता पनि औंल्याएकी थिइन् ।
अर्कावक्ता नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अवाञ्छित क्रियाकलाप गर्ने मान्छेदेखि टाढा रहन सबैलाई सचेत गराए । बिर्तामोडमा लागुऔषधको भयावह अवस्था रहेकोले कुनै पनि प्रकारका गतिविधि देखिए प्रहरीलाई खबर गर्न सबैलाई उनको आग्रह थियो ।
वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले लागूऔषधका कारण युवाहरु बिग्रँदै गएकोले अभिभावकले निगरानी बढाउनु पर्ने बताए । उनले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने सडकको लगानीकर्ता वल्ड बैंकलाइ धन्यवाद व्यक्त गरेका थिए ।
सहभागीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धी अभियन्ता सोमराज ढकालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, आयोजनाका टिम लिडर भुवनेश्वर देबले लागुऔषध नियन्त्रणमा जोड दिएका थिए ।
निर्माण व्यवसायी मनोज उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा ध्रुव उप्रेतीले स्वागत तथा विजय तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा मनकामना कलेजका ब्याचलर अफ सोसियर वर्क अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक पेन्टोमाइम शो प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले प्लेकार्ड बोकेर र्यालीसमेत गरेका थिए ।