२०८१ पौष ११, बिहिवार , ०२:३९:३८ बजे

Sajhamanch
'

स्वीस एम्बेसीको प्रतिनिधिमण्डलसँग क्यान झापाको दुईपक्षीय अन्तरक्रिया

सोमवार, मंसिर १०, २०८१

झापा । स्वीस एम्बेसी नेपालका अधिकृत कर्मचारीहरुले आज कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको नेतृत्वसँग औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सम्बन्धी छलफल गरेका छन् ।

स्वीस सरकारको सहयोगमा सञ्चालन भइरहेको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम कसरी अगाडि बढिरहेको छ ? यसका प्रशिक्षार्थीहरुलाई थप दक्ष बनाउन कस्तो पाठ्यक्रम तयार गर्नुपर्छ ? आगामी दिनमा सूचना प्रविधिको क्षेत्रमा उत्पादित जनशक्तिलाई रोजगारसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा क्यान झापाको नेतृत्व, रोजगारदाता कम्पनीहरु एवम् स्वीस एम्बेसी नेपालका अधिकृत कर्मचारीहरुले हालसम्मको अनुभव आदान प्रदान गरेका थिए । सहभागीहरुबीच एकापसको अनुभव साटासाटसँगै भविष्यका लागि कस्तो बाटो अवलम्बन गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो।

भेटमा आगामी दिनमा शैक्षिक सचेतना अभिवृद्दि गर्न सकेमा सूचना प्रविधिको जनशक्ति उत्पादनमा सहजता हुने विषयमा दुवै पक्षको सामुहिक बुझाई रहेको थियो । सो कार्यका लागि आपसी सम्झौता गरी अगाडि बढ्न सकिने गरी छलफल भएको छ ।

दिउँसो १ बजेदेखि २ः३० बजेसम्म प्रथम आईटी सिस्टम प्रालिको बैठक कक्षमा भएको बहुपक्षीय अन्तरक्रियात्मक छलफलमा स्वीस एम्बेसी नेपालका नेसनल प्रोग्राम अफिसर पंकज पराजुली, हेल्भेटास इन्स्योर परियोजना कोशी प्रदेश प्रमुख संजीव राई र कोशी प्रदेशको टिभेट प्रमुख रेखा उप्रेतीको सहभागिता थियो ।

यता कम्युटर एसोसिएसन नेपाल महासंघ झापाबाट अध्यक्ष शुभ कुमाई पाठक, केन्द्रीय सचिव भुपेन्द्र मैनाली, प्रदेश अध्यक्ष रोशन दाहाल, झापाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरे र पूर्व अध्यक्ष राजु श्रेष्ठको सहभागिता थियो ।

क्यान झापा र स्वीस एम्बेसी नेपालका अधिकृत कर्मचारीहरु बीचको अन्तरक्रियाको चाँजोपाँजो कनकाई पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य तथा क्यान झापाका नवनिर्वाचित सदस्य खगेन्द्र मिश्रले मिलाएको जनाइएको छ ।

उक्त दुईपक्षीय भेटवार्तामा प्रथम आईटी सिस्टमका अध्यक्ष तथा क्यान झापाका निवर्तमान सचिव लोकप्रिय खनाल, क्यान झापा कार्यसमिति सदस्यहरु गोपाल काफ्ले र जेनिशा पोखरेलले सहभागिता जनाएका थिए ।

सम्बन्धित खबर