२०८१ माघ १२, शनिवार , १२:३६:४९ बजे

Sajhamanch
'

सताक्षीधाममा मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव गरिँदै

सोमवार, मंसिर १०, २०८१

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ गरिने भएको छ ।

लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री सताक्षी गोवद्र्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको आज सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महायज्ञ अन्तरगत पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिंग महापुराण कथा प्रवचन, ५१ फिटको रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष अर्चना गरिने आयोजक संस्थाले जनाएको छ ।

सवा करोड रुद्राक्षको माला तयार गरी रुद्राक्षको शिवलिङ्ग निर्माण गरिँदै छ । महोत्सवको लागि पूर्व पश्चिम लोकमार्गमा गेट निर्माणको काम भइसकेको श्री सताक्षी गोवद्र्धन गौशालाले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा करिब ४०० हाराहारीमा अन्तर्राष्ट्रिय विद्वानवर्ग सहभागी हुनेछन् ।

गौशलाको वार्षिकोत्सवको अवसर पारेर १२ दिने महायज्ञसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको गौशलाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए ।

उनका अनुसार मंसीर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालाचतुर्दशी उत्सव सतबिज रोपण, १६ गते विद्वत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ तथा रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष अर्चना, रुद्रीपाठ तथा लिङ्ग महापुराण प्रारम्भ हुनेछन् ।

यसैगरी मंसीर १८ गतेदेखि नियमित पञ्चकुण्डीय महायज्ञ तथा रुद्रीपाठ एवं लिङ्ग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक विद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकता माथि प्रतिष्पर्धात्मक विचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई माईमा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

लिङ्ग महापुराणको कथा प्रवचन विद्वत्वरेण्य आचार्य पं. लक्ष्मीप्रसाद खतिवडा तथा आचार्य पं. मदनमोहन अधिकारीको पाठपारायण रहने जनाइएको छ ।

हाल गौशालामा ६६२ वटा गाई बाच्छा छन् भने बाहिर २ हजार १६० वटा रहेका आचार्य पं. भारद्वजले बताए । गौशालाका लागि १५ जना कर्मचारी र गाई बाच्छाको आहाराका लागि मासिक ५ देखि ६ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए ।

आचार्य भारद्वजले गौशालाले पूर्वका गाईहरुलाई संरक्षण गरेको जनाए । उनले भने, ‘हामी पश्चिम नेपालदेखिका गौमाताहरुलाई संरक्षण गर्छौं । गौहत्या गर्नु महापाप हो, गौ भनेकी देवी हुन् । उनलाई बेच्न, उनको हत्या गर्नु हुँदैन ।’

गौशालाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गरेका थिए । कार्यक्रममा गौशाला प्रमुख घनश्याम खनाल शास्त्री, कार्यसमिति सदस्य कृष्ण खरेललगायतको सहभागिता थियो ।

सम्बन्धित खबर