२०८१ पौष २४, बुधवार , ०५:३०:२६ बजे

Sajhamanch
'

धरहराबाट प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश गरिएको जनाइएको छ ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’

प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि उनले बताए । ‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा आफू सरकामा रहँदा वा नरहँदा पनि ध्यान दिने दोहोरयाएका छन् । एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने पनि बताए ।

नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई यो खेलले फेरि पनि स्थापित गर्ने ओलीले विश्वास व्यक्त गरेका थिए । ‘नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्, क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘हाम्रो गौरवशाली धरहराको काखमा, नेपाल प्रिमियर लिगको ट्रफी लन्च कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको छ, विशाल अनि अग्लो धरहराले हाम्रो इतिहास र संस्कृतिलाई सम्झाउँछ भने नेपाली क्रिकेट इतिहासको विशाल अनि उमङ्गमय पर्व एनपिएलले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताको प्रेरणालाई उजागर गर्दछ’ओलीले गौरव व्यक्त गरे ।

विश्वभर छरिएर रहेका क्रिकेटप्रेमीहरू मात्र होइन, अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ लिएको ओलीको भनाई छ । यो केवल खेल मात्र नभई, हाम्रो राष्ट्रिय जागरूकता र अनुशासनको प्रतीक भएको प्रधानमन्त्री ओलीले दाबी पनि गरेका छन् ।

सम्बन्धित खबर