२०८१ माघ १३, आइतवार , ०४:०४:५३ बजे

Sajhamanch
'

कम्बोडियन समकक्षीसँग सभामुख घिमिरेको भेट

आइतवार, मंसिर ९, २०८१

नोम पेन्ह (कम्बोडिया) । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेशनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

सभामुख घिमिरेले शनिबार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद पनि दिएका थिए ।

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताए । ‘नेपालमा सन् २००६ मा गरिएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधान सभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पुरयाएको छ’ सभामुख घिमिरेको भनाई थियो ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानून पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको जनाइएको छ ।

सभामुखले प्रधानमन्त्री मानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले भने, ‘विगत दशकहरूमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद र नेपाली जनताले प्रशंसा गर्दछन् ।’

सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले जनताबीचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले आज आइतबार बिहान प्रधानमन्त्री सम्देच हुनमानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग अनौपचारिक भेट गरे । प्रधानमन्त्री र सिनेट अध्यक्षसँग शिष्टाचार भेटको कार्यक्रम पछि हुने जनाइएको छ ।

पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुख घिमिरेले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खबर