काठमाडौं । वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका १२ बस्ने २१ वर्षीया रचना परियार र डोटीको बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रचनाले वैदेशिक रोजगारीमा हङ्गेरी पठाइदिने भन्दै दुई जनाबाट १८ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन् । यस्तै प्रकाशले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।
दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताए।