२०८१ पौष ८, सोमवार , १२:०१:३९ बजे

Sajhamanch
'

किर्ते हस्ताक्षर गरी अदुवा खोला सिंचाई आयोजनाको साढे १७ लाख झ्वाम !

बिहिवार, मंसिर ६, २०८१

झापा । झापाको अदुवा खोला सिँचाइ आयोजनामा किर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित ३ जनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ ।

झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको खातामा रहेको लाखौ रुपैयाँ कार्यसमितिका अध्यक्ष बृखबहादुर थापा (दिनेश), सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकनाथ ओलीले मिलेमतोमा चलाएको उपभोक्ताहरुले आरोप लगाएका हुन् ।

संस्थाको खातामा मौज्दात रहेको रकम कार्य समितिलाई थाहै नदिई तीन जनाले चलाएको पाइएको छ । खातामा रहेको १७ लाख ५४ हजार रुपैयाँ अपचलन गर्ने नियतले निकालेको उनीहरुलाई आरोप छ । कार्यसमितिका धेरै सदस्यहरुको हस्ताक्षर नै किर्ते गरेर उक्त रकम निकासा गर्ने निर्णय फेला परेको संस्थाका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारी बताउँछन् । उनै पूर्व अध्यक्ष अधिकारीले खाताबाट पैसा झिकेर चलाइसकेको पत्ता लगाएका थिए ।

संस्थाका उपाध्यक्ष रोमनाथ दाहालले आयोजनाको खाताबाट रकम निकासा गरेको विषय आफूलाई थाहा नभएको बताएका छन् । उनले भने, ‘मैले त्यस्तो निर्णयमा हस्ताक्षर गरेको छैन, पैसा निकालेको विषय पछि थाहा पाएँ ।’

किर्ते हस्ताक्षर गर्ने र अपचलन गरी लाखौं रुपैयाँ चलाउनेहरुलाई कानुनी कारबाही हुनुपर्ने उपाध्यक्षको माग छ । उपाध्यक्ष दाहाललाई गत कात्तिक २७ गते अध्यक्ष थापाले सम्पर्क गरेर ‘मिलाएर साधारणसभा’ सकिदिन भनेका थिए । उक्त प्रस्तावको ठाडै प्रतिवाद गरेको दाहालले बताएका छन् ।

अध्यक्षसहित तीन जनाले साढे १७ लाख अपचलन गरेको चर्चा चुलिएपछि तत्कालै साधारणसभाबाट उक्त विषयलाई सामसुम बनाउने प्रयास भएको बुझिएको छ । ‘कात्तिक २८ गते सामाजिक सञ्जालबाट साधारणसभा गर्ने भन्दै खबर गरिएको थियो’, उपाध्यक्षले भने, ‘अध्यक्ष साधारणसभा बोलाएर १९ गते नै देशबाहिर जानुभयो । उहाँको भाइ बिरामी परेर बाहिर गएको सूचना प्राप्त भएको छ ।’

उपाध्यक्ष दाहालले अध्यक्षको उपस्थिति बिना साधारणसभा सम्भव नहुने बताइसकेका छन् । संस्थाका सचिव पाठकले २७ गतेका दिन साधारणसभाको चिठी बाँडेको केही उपभोक्ताहरुले जानकारी दिए ।

संस्थाका कोषाध्यक्ष लोकनाथ ओलीले आफूले हस्ताक्षर गरेर पैसा निकालेको स्वीकार गरेका छन् । अध्यक्षले आफ्नो भाइलाई विदेश पठाउनका लागि पैसा चलाएको उनको भनाइ छ । उनले आफूले हस्ताक्षर गरेकोभन्दा धेरै पैसा निकालिएको भन्दै त्यसबारे अनविज्ञता प्रकट गरेका छन् । उनी आफूले पनि २ लाख रुपैयाँ चलाएको स्वीकार गरे ।

संस्थाका सचिव प्रकाश पाठकले किर्ते हस्ताक्षर भएको विषय बारे थाहा नभएको बताए । कोषाध्यक्ष ओलीले भने सचिवको नाममा ५ लाखको चेक काटेर पैसा निकालेको बताएका छन् । सचिव पाठकले आफूले सो रकम नचलाएको दाबी गरे ।

उनी भन्छन्, ‘मेरो नाममा चलेको देखिन्छ, तर मैले खर्च गरेको होइन । त्यो पैसा अध्यक्षज्यूले नै चलाउनु भएको होला ।’ किर्ते हस्ताक्षर भएको बैठक पुस्तिकामा आफूले हस्ताक्षर गरे÷नगरेको निर्णय पुस्तिका नै हेर्नुपर्ने उनको भनाई छ । ‘संस्थाको पैसा व्यक्तिगत प्रयोजनमा जानु बेठिक हो’, उनले भने, ‘प्राविधिक हिसाबले मैले चलाएको देखिन्छ ।’

संस्थाका अध्यक्ष थापा भर्खरै नेपाल फर्किएका छन् । उनले संस्थाको रकम चलाएको स्वीकार गरिसकेका छन् । तर, उनले भने १० लाख ५४ हजार रुपैयाँ मात्र तीन जनाले चलाएको दाबी गरे । ‘संस्थाको रकम मैले मात्र चलाएको होइन, सचिव र कोषाध्यक्षले समेत चलाएका छन्’, उनले भने, ‘सचिव प्रकाश पाठकले भाइलाई अष्ट्रेलिया पठाउने बेला पैसा चलाएका हुन् ।’

किर्ते हस्ताक्षरको लागि सचिव नै जिम्मेवार हुने अध्यक्ष थापाको भनाइ छ । ‘निर्णय पुस्तिकामा सचिवले हस्ताक्षर गराउनु भएको हो, के–के गर्नुभएको छ उहाँ नै जवाफदेही बन्नुपर्छ’, उनले भने, ‘किर्ते हो वा सक्कली हो मलाई थाहा छैन ।’ निर्णय पुस्तिकमा अध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक अधिकांशको हस्ताक्षर किर्ते भएको प्रमाण फेला परेको छ ।

२७ वर्ष संस्थाको नेतृत्व गरेका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारीले कामको सिलसिलामा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय जाँदा रकम निकालेर चलाइसकेको सूचना पाए ।

‘गाउँपालिकाले दिएको ९ लाख ३७ हजार, निर्माण व्यवसायीले विभिन्न आयोजना निर्माणमा लागतको २ प्रतिशतबाट आएको थप ९ लाखसहित संस्थामा १८ लाखभन्दा धेरै बजेट मौज्दात थियो । संस्थाको चल्ती र धरौटी खाता थियो । जब धरौटी खाताको पैसा चल्तीमा सारियो, त्यसबेला नै मलाई शंका भएको थियो’, उनले भने ।

पैसा चलाइसकेको भनेपछि आफूले माइन्यूट हेर्न माग्दा १३ जनाको कार्यसमितिमध्ये ३ जनाले हस्ताक्षर नगरेको पाइएको अधिकारीले बताए । उनका अनुसार १० जनाको हस्ताक्षरमा पनि कोपिला पौडेलको हस्ताक्षर अंग्रेजीबाट गरिएको थियो । ‘उहाँ कहिल्यै अंग्रेजीबाट हस्ताक्षर गर्नुहुन्न’, उनले भने ।

सहसचिव सीतादेवी अधिकारी र सदस्य रेनुका भेटवालसँग सम्पर्क हुन सकेन । अन्य सदस्यहरु देवराज ताजपुरिया, इन्द्रकला दाहाल, मानबहादुर थापा, बालमाया कार्कीले उक्त निर्णयमा हस्ताक्षर नगरेको जानकारी दिए ।

त्यहाँबाट फर्केपछि उपाध्यक्षसहित केही सदस्यहरुलाई खातामा पैसा नभएको अधिकारीले जानकारी गराएका थिए । पैसा नभएपछि उनले कोषाध्यक्ष ओलीलाई ‘पैसा त खाइएछ नि’ भन्दा उल्टै ‘तपाईंलाई किन चाहियो, तपाईंलाई नै अब खातापाता जिम्मा लगाइदिन्छु भन्दै कड्किएको बताए । पूर्व अध्यक्ष अधिकारीले अघिल्लो लेखापरीक्षण हेर्दा पनि सन्तोषजनक नभएको बताएका छन् ।

संस्थाका पूर्व सचिव रविन कार्कीले पैसा चलाउनकै लागि धरौटी खाताबाट चल्तीमा सारेको दाबी गरे । ‘चल्तीमा सार्नु नै पैसा चलाउने नियत हो’, कार्कीले भने, ‘अध्यक्षसहित तीन जनाले पैसा चलाएको बुझिएको छ ।’ बैंकमा पुग्नेहरुले नै निर्णय पुस्तिकामा किर्ते हस्ताक्षर गरेको हुनुपर्ने उनको अनुमान छ ।

उपभोक्ताहरुले किर्ते हस्ताक्षर गरेर पैसा चलाएको विषय थाहा पाएपछि उनीहरुले केही दिन अघि बैंकमा सो रकम जम्मा गरिसकेको बुझिएको छ ।