२०८१ मंसिर ६, बिहिवार , १२:२६:१४ बजे

Sajhamanch
'

३ लाख दर्शकबीच ट्रेलर रिलिज गर्दै पुष्पा २ ले बनायो रेकर्ड

बुधवार, मंसिर ५, २०८१

झापा । सन २०२४ को सर्वाधिक ठुलो व्यापार गर्ने लक्ष्य लिइएको भारतीय चलचित्र पुष्पा २ः द रुलले ट्रेलर रिलिज समारोहमा एउटा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको आइतबार अपराह्न भएको ट्रेलर रिलिज समारोहमा ३ लाख भन्दा बढी दर्शक एकै थलोमा भेला गराएर यो रेकर्ड राखिएको हो ।

यस अघि बाहुबाली २ ले भेला गरेको दर्शक भन्दा दोब्बर बढी चलचित्र पुष्पा २ को ट्रेलर रिलिज समारोहमा भेला भएका छन् । दर्शकको यो उपस्थित ऐतिहासिक साबित हुन पुगेका छ ।

आउँदो ५ डिसेम्बरबाट विश्वव्यापी रिलिज हुने चलचित्र पुष्पा २ को दक्षिण भारतमा नभएर विहारमा भव्य समारोहबीच २ घण्टाको विशेष कार्यक्रमसहित ट्रेलर रिलिज गरिएको छ ।

यो चलचित्रको आइतबार अपराह्न बिहारको राजधानी पटना स्थित गान्धी नगरमा ३ लाख भन्दा बढी दर्शक एवम् शुभचिन्तकको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो । चलचित्र पुष्पा २ को ट्रेलर रिलिज समारोहलाई पटनावासीले उत्सवको रुपमा लिए ।

पटनका मुख्य सडकमा पुष्पा २ र कलाकारहरूको स्वागतको लागि होर्डिङहरू राखिएका थिए । त्यहाँको वातावरण उत्साहमय थियो । बिहार र नजिकका राज्यहरूबाट प्रशंसकहरू त्यहाँ ट्रेलर हेर्न भेला भएका थिए ।

अल्लु अर्जुन अभिनीत बहुप्रतिक्षित चलचित्रको ट्रेलर रिलिज समारोहमा बिहारका थुप्रै जिल्लाबाट अल्लु अर्जुनलाई हेर्न उनका प्रशंसकहरू गान्धी मैदान पुगेका थिए । ट्रेलर कार्यक्रममा पुष्पा २ का निर्माताले अल्लु अर्जुनका फ्यानलाई निशुःक प्रवेशको व्यवस्था मिलाएका थिए ।

समारोहमा जब आइकन स्टार अल्लु अर्जुन र सुन्दरी अभिनेत्री रश्मिका मन्डन्ना हात हल्लाउँदै मञ्चमा उत्रिए । त्यतिबेला साह्रा गान्धी मैदानमा ताली र सिट्ठीको हुटिङ चल्यो ।

जानी नजानी अल्लु अर्जुनले भोजपुरीमा दर्शकलाई सम्बोधन गर्दा दर्शकहरू उनको फ्यान भएका थिए । यसरी यी अभिनेता अभिनेत्रीले यस कार्यक्रममा आफ्नो उपस्थितिले सबैको मन जिते ।

यो चलचित्रको ट्रेलर रिलिज गरिने भनेपछि पटना नगर विकासदेखि स्थानीय सरकारसम्मले कार्यक्रमलाई सहयोग गरेको थियो । समारोहमा जब ठुला ठुला दर्जनौँ स्क्रिनमा एकसाथ चलचित्र पुष्पा २ को ट्रेलर रिलिज भयो ।

त्यतिबेला दर्शकले निरन्तर ताली, सिट्ठी र हुटिङले आफ्ना यी स्टार कलाकारलाई साथ दिए । यसरी कलाकारहरूको उपस्थितिमा प्रत्यक्ष रुपमा अतिथि बनेर ट्रेलर हेर्न पाउनुले दर्शकका लागि पनि यो एउटा फरक र ऐतिहासिक समारोह साबित भयो ।

दक्षिण भारतीय चलचित्रलाई यस पटक विहार र उत्तर प्रदेशमा बजार बढाउन पुष्पा २ को ट्रेलर विहारमा यस्तो भव्य समारोहबीच रिलिज गरिएको हो ।

चलचित्र पुष्पा २ को गेटअप देखि कलाकारहरूको शैली पनि विहारी जस्तो देखिएको छ । दक्षिण भारतमा उसै पनि सुपरहिट हुने सङ्केत देखिएपछि हिन्दी संस्करणलाई लक्षित गरेर यस पटक विहारमा ट्रेलर रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।

अल्लु अर्जुनको यो ट्रेलर एक्सनमा विस्फोटक बनेको प्रतिक्रियाहरू लगातार दर्शकबाट आई रहेका छन् । यो चलचित्रमा रश्मिका मन्डन्ना र फहद फाशीलको पनि अभिनय रहेको छ ।

यस पटक फिल्ममा अल्लुको अर्कै रूप देख्न पाइन्छ । योसँगै ट्रेलर हेर्दा रश्मिका र अल्लुको केमेस्ट्री पनि राम्रो देखिएको छ । पुष्पाको ट्रेलर एक हिसाबले मास ट्रेलर बनेको वितरकहरूको दाबी छ । फहादको खलनायक अवतारले पनि उनलाई अझ सशक्त बन्न सघाएको देखिन्छ ।

चलचित्र पुष्पा २ यही ५ डिसेम्बरमा रिलिज हुँदैछ । पुष्पाको पहिलो शृङ्खलाको सफलता पश्चत निर्देशक सुकुमारले यो दोस्रो शृङ्खला तयार गरेका हुन् ।

सम्बन्धित खबर