२०८१ मंसिर ४, मङ्गलवार , ११:३७:०२ बजे

Sajhamanch
'

बजेट अभावले विकास आयोजना प्रभावित भएको सभामुख घिमिरेको भनाई

मङ्गलवार, मंसिर ४, २०८१

‘इमान्दार भएर झापा क्षेत्र नम्बर २ को विकासमा काम गर्छु, गलत काम गदिनँ’

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको औंल्याएका छन् ।

आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंगलबार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षणमा रहेका सभामुख घिमिरेले मुलुकको शिथिल अर्थतन्त्रको प्रभाव विकासमा सोझै परेको बताएका हुन् ।

‘तुलनात्मक रुपमा झापा क्षेत्र नम्बर २ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन’ मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा सभामुख घिमिरेले भने, ‘तथापि मेरो प्रयास निरन्तर हुनेछ ।’

मुलुकको सभामुखको रुपमा विधि निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्थामा पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने उनको भनाइ थियो । ‘मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ’ उनले थपे, ‘तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरैभन्दा धेरै पहल गर्ने अवसर पनि मिलेको छ ।’

संसद अधिवेशन नभएको र संसदीय गतिविधि कम भएको अवस्थामा सभामुख घिमिरेले जिल्लाको विकास आयोजनालाई प्राथमिकता दिँदै निर्वाचन क्षेत्रको भ्रमणमा आएका हुन् ।

आज मंगलबार बिहानदेखि अबेर बेलुकासम्म सभामुख घिमिरे, प्रदेशसभा सदस्य चिन्तन पाठकसहित राजनीतिक दलका अगुवा, आयोजनाका अधिकारीहरू निर्वाचन क्षेत्र अन्तगर्तका विभिन्न आयोजनामा पुगेका थिए ।

सभामुख घिमिरेले अर्जुनधारा ११ स्थित बुट्टाबारीबाट सालबाडी हुँदै कालिस्थान जोड्ने सडकको स्थलगत अवलोकन गरी कालोपत्रे हुन नसकेर रोकिएको ९ दशमलव २ किलोमिटर सडकको काम अगाडि बढाउन सभामुखले सम्बद्ध पक्ष तथा स्थानीयसँग अन्तक्र्रिया गरेका थिए ।

सभामुखले आज मंगलबार नै मदन भण्डारी राजमार्गको शनिश्चरेदेखि मेचीनगर हुँदै इलामसम्मको क्षेत्र अवलोकन गरे । उनले सडक क्षेत्रका विभिन्न स्थानीयसँग अन्तरक्रिया गर्दै सुझाव पनि लिएका थिए ।

आयोजनाका लागि बजेट अभाव नभए पनि निर्माण सुस्तता भएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले प्राविधिक समस्या समाधान गर्न मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने आश्वासन दिए ।

घिमिरेले हात्ती आतंक कम गर्न आफ्नो पहलमा सुरु भएको इलेक्ट्रिक फेन्सिङ सम्बन्धी कामको प्रगतिबारे बुझेपछि इलेक्ट्रिक फेन्सिङ प्रविधि प्रभावकारी भएकोले थप क्षेत्रमा विस्तारका लागि पहल गर्ने उनले बताए ।

सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझमात्र काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खबर