काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ राजस्व संकलन गरेका छन्। घर जग्गाको कारोबारमा अपेक्षितरूपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ।
असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो। असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजस्व संकलन भएको थियो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा कमी आएको हो।
विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ राजस्व उठाएको छ।
मुलुकभर १३३ मालपोत कार्यालय छन्। ती कार्यालयले १७ करोड ७८ लाख ३८ हजार ४६६ बराबरको सेवा कर उठाएको छ। यस्तै, रजिष्ट्रेशन शुल्क रु. एक अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० सङ्कलन गरेको छ।
विभागका अनुसार गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा तीन अर्ब नौ करोड दुई लाख ५९ हजार १५२ बराबरको राजस्व संकलन भएको थियो।