२०८१ पौष १०, बुधवार , ०७:०६:५८ बजे

Sajhamanch
'

पुस्तक व्यवसायमा समस्याको चाङ थुप्रँदै

आइतवार, मंसिर २, २०८१

झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सरोज मास्केले देशभरका पुस्तक व्यवसायीहरू एकजुट हुनैपर्ने बेला र्भको बताएका छन् ।

झापाको बिर्तामोडमा महासंघले आयोजना गरेको जागरण अभियानको दोस्रो दिनको कार्यक्रममा बोल्दै उनले पुस्तक तथा स्टेसनरीका व्यवसायीहरू अब पनि एकजुट हुन नसके चारैतिरबाट घेराबन्दीमा पर्ने बताए । ‘आफूले सञ्चालन गरेको पुस्तक तथा स्टेसनरीको व्यवसाय बचाउन देशभरका व्यवसायी एकजुट हुनुको विकल्प छैन’ उनले भने ।

उनले देशभरका पुस्तक व्यवसायीहरूलाई महासंघको सदस्यता लिएर एउटै मालामा आउन आग्रह गरे । महासंघले सञ्चालन गरेका हरेक कार्यक्रममा सहभागिताका लागि उनले सार्वजनिक अपिल गरेका छन् । व्यवसायीको पिर, मार्का, अप्ठ्यारा, सारोगाह्रो सम्बोधनकै लागि महासंघले जागरण अभियान सुरु गरेको उनले बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव महेश शर्माले पनि पुस्तक तथा स्टेसनरीको व्यवसाय टिकाउन व्यवसायीलाई चुनौति भइरहेको बताए । शैक्षिक जनशक्ति विदेश पलायन भइरहने क्रम नरोकिए यो व्यवसाय धराशयी हुने उनको तर्क थियो ।

सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्न विदेशी स्टाइलमा कार्यक्रमहरू ल्याउन सके नेपालको शैक्षिक जनशक्ति पलायन हुनबाट जोगिने उनको तर्क छ । उनले भने ‘नेपालमै शिक्षा र त्यसपछि योग्यता अनुसारको रोजगारी पाउने हो भने अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने शैक्षिक जनशक्तिलाई रोक्न सजिलै सकिन्थ्यो ।’

तर सरकारका शिक्षासँग सम्बन्धित स्थायी कार्यक्रम नहुँदा त्यसको प्रत्यक्ष मारमा पुस्तक तथा स्टेसनरी व्यवसायी पनि परेको उनले बताए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका झापा अध्यक्ष विनोद सापकोटाले निजी प्रकाशक, सामुदायिक तथा संस्थागत विद्यालयका संचालक, पुस्तकका अधिकृत विक्रेताका कारण खुद्रा व्यवसायी संकटमा परेको गम्भीर आरोप लगाए ।

उत्पादक र वितरक आफ्नै व्यवसायप्रति उत्तरदायी हुन नसक्दा ग्रास लेभलका व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको उनको आरोप छ ।

‘यस्तै रीतिथिति रहिरहने हो भने केही वर्षमै अधिकांश पुस्तक पसलका सटरहरू बन्द हुनेछन् । पसलका सटर बन्द भयो भने राज्यलाई कति नोक्सान हुन्छ’ उनले प्रश्न गरेका थिए ।

कार्यक्रममा व्यवसायी महासंघका कोशी प्रदेश सचिव दिवाकर भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई लगायतले ब्यवसायीको समस्याका बारेमा आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खबर