२०८१ पौष ८, सोमवार , ०६:३७:०६ बजे

Sajhamanch
'

साइबरमार्फत वित्तीय ठगी : १९ देखि २४ वर्ष उमेर समूहका युवा विद्यार्थी धेरै संलग्न

आइतवार, मंसिर २, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित वित्तीय ठगी डरलाग्दो गरेर बढिरहेको जनाएको छ । साइबर प्रविधिमा आधारित ठगीबारेको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै राष्ट्र बैंकले यस्ता ठगी बढिरहेको जनाएको हो ।

प्रतिवेदनमा ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर अपराधसम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत विश्लेषण समावेश छ ।

विश्लेषणबाट शङ्कास्पद कारोबारमा १९र२४ वर्ष उमेर समूहका र पेशामा विद्यार्थी उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा धेरै संलग्न रहेको देखिएको छ ।

यसैगरी धेरैजसो शङ्ककास्पद खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट र पार्सल पठाइदिने, नक्कली व्यापारिक खाता, ओटीपी ठगी र चिट्ठा परेको बहाना प्रयोग भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर यिनै बहानाबाट ग्राहकलाई ठगी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनको निष्कर्षमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानून कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय अझै चनाखो हुनुपर्ने र सर्वसाधारण पनि सचेत हुनुपर्ने उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्तिसमेतका विवरण संलग्न गरी आफ्नो काम कारबाहीसम्बन्धी वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्थाअनुसार राष्ट्र बै्कले प्रतिवेदन तयार पारेको हो ।