काठमाडौं । श्रीलंकामा नेशनल पिपुल्स पावर (एनपीपी) नेतृत्वको गठबन्धनले दुई तिहाइ बहुमत पाएकोमा नेकपा एमालेले खुशी साटेको छ ।
महासचिव शंकर पोखरेलले बक्तव्य जारी गर्दै श्रीलंकाको संसदीय चुनावमा वाम पार्टीले अभूतपूर्व सफलता पाएकोमा खुशी प्रकट गरेका छन् ।
‘हाम्रो पार्टी श्रीलंकामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको यस अपूर्व सफलताप्रति खुशी प्रकट गर्दछ’ महासचिव पोखरेलको बक्तव्यमा भनिएको छ ।
एनपीपी गठबन्धनले श्रीलंकाको संसदीय चुनावमा २२५ मध्ये १५९ सिट जितेको छ । यसअघि संसदमा एनपीपीको ३ सिट मात्र थियो ।
तर केही समय सम्पन्न राष्ट्रपति निर्वाचनमा एनपीपीका अनुरा कुमार देशनायके राष्ट्रपति निर्वाचित भएका थिए । लगत्तै उनको पार्टीले संसदमा पनि दुई तिहाइ बहुमत पायो ।
‘हाम्रो पार्टी संकटका बेला जनताले रोजेको यस विकल्पलाई सही रुपमा सफल पारेर श्रीलंकाले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने हार्दिक शुभकामना दिन चाहन्छ’, महासचिवको बक्तव्यमा भनिएको छ ।