२०८१ पौष १०, बुधवार , १०:४०:३४ बजे

Sajhamanch
'

बिर्तामोडले गौरादहलाई ५ – ० गोल अन्तरले जित्यो

शुक्रवार, कार्तिक ३०, २०८१

अर्जुनधारा । बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमीफाइनल यात्रा तय गरेको हो ।

बिर्तामोडको जितमा श्याम मुर्मु नायक बने । उनले खेलमा ह्याट्रीक पूरा गरे । मुर्मुले खेलको २१औं मिनेटमा आशिष चापागाईले प्रहार गरेको फ्रि–किकलाई हेड मार्फत गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएको थिए ।

उनले पहिलो हाफको अतिरिक्त समयमा दोस्रो गोल गरे । खेलको ४७औं मिनेटमा थप एक गोल गर्दै मुर्मुले ह्याट्रीक पूरा गरेका थिए ।

बिर्तामोडका लागि सनम भुजेल र सुजन लिम्बूले थप एक–एक गोलको योगदान दिए । पहिलो हाफको अतिरिक्त समयमा डि–एरिया नजिकैबाट भुजेलले प्रहार गरेको फ्रि–किकले जाली चुमेको थियो । लिम्बूले खेलको ६१औं मिनेटमा टिमका लागि ५औं गोल गरेका थिए ।

अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा भएको खेलमा गौरादहले स्कोर गर्न नसक्दा ५–० गोलको पराजय भोग्यो । पहिलो हाफमा ३–० गोल अन्तरले पछि परेको गौरादहले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्न नसक्दा थप २ गोल खायो ।

आजको खेलमा ह्याट्रीक गरेका बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई बिर्तामोडका नगरउपप्रमुख नगेन्द्र संग्रौला, प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

गोल्डकपको भोलि शनिबार हुने चौथो क्वाटरफाइनलमा दमक नगरपालिका र भद्रपुर नगरपालिकाबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबर