२०८१ पौष ११, बिहिवार , ०३:५८:५७ बजे

Sajhamanch
'

कर्णाली साकोसको पाँचौं इकाइगत साधारणसभा बिर्तामोडमा सम्पन्न

शुक्रवार, कार्तिक ३०, २०८१

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औं वार्षिक साधारणसभा अन्तरगत आज बिर्तामोडमा इकाई (ख) का ५ वटा सेवा केन्द्रको इकाइगत साधारणसभा सम्पन्न गरेको छ ।

कोशी प्रदेशका तीनवटा जिल्ला झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको संस्थाले साधारणसभा सम्बन्धी नीतिगत व्यवस्था अनुसार आफ्ना ४१ वटा सेवा केन्द्रहरुलाई ७ वटा इकाइमा विभाजन गरी कात्तिक २५ गतेदेखि इकाइगत साधारणसभा गरिरहेको हो ।

जसअनुसार कात्तिक २५ गते बिर्तामोड (क) इकाई, कात्तिक २६ गते दमक, कात्तिक २८ गते मोरङको उर्लाबारी र कात्तिक २९ गते सुरुङ्गामा इकाइगत साधारणसभा भइसकेको छ ।

अब मंसीर ४ गते चारआलीमा र मंसीर ६ गते भद्रपुरमा इकाइगत साधारणसभा सम्पन्न गरी मंसीर १४ गते बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण सभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित इकाइगत साधारणसभाको उद्घाटन वडाध्यक्ष बुढाथोकीले ब्यानर वाचनबाट गरेका थिए । आज बिर्तामोड (ख) अन्तरगत बिर्तामोड, कृषिथोक बजार, महानन्द चोक, शनिश्चरे र खुदुनाबारी गरी ५ वटा सेवा केन्द्रका सेयर सदस्यहरुलाई सहभागी गराइएको जनाइएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तको वास्तविक वित्तीय विवरण प्रस्तुत गर्दै ५६ हजार ६६८ जना शेयर सदस्यहरुबाट ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ शेयर पूँजी संकलन भएको तथा संस्थामा २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ निक्षेप बचत रहेको जनाए ।

कर्णाली साकोसमा आवद्ध शेयर सदस्यहरुमध्ये १५ हजार ३५० जनाले संस्थाबाट ऋण कारोबार गरिरहेको र ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैंयाँ ऋण लगानीमा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । कर्णाली साकोसको संस्थागत पूँजी १५ करोड ६२ लाख ९८ हजार ४७२ रुपैंयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ हजार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न सकिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्दात रहने उल्लेख छ ।

साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीले धेरै ठूलो रकम कारोबार गरेका कारोबारीहरुको पनि सुखदुखमा बैंकको कुनै चासो रहेको पाइन्न तर सहकारी संस्थाहरुले सदस्यलाई आफ्नै परिवार ठान्ने गरेको बताए । त्यसैले मेरो विचारमा बैंकभन्दा सहकारी ठीक हो ।

वडाध्यक्ष बुढाथोकीले भने, यसका सदस्यहरु बचतकर्ताहरु विपन्न, श्रमिक वर्गका पनि हुने भएकाले उहाँहरुको बचतले भविष्यमा केही उत्पादनमुलक काम गर्ने गरी सुरक्षित गरिदिनोस् ता कि त्यो वर्गको आँशु र हाँसोमा सहकारीको साथ रहेको देख्न पाइयोस् ।

पछिल्लो समय पैसाको ब्यक्तिगत लेनदेनको मुद्धाले वडा सरकारलाई नै अप्ठ्यारोमा पारिरहेको सुनाउँदै वडाध्यक्ष बुढाथोकीले साक्षी र जमानी के हो भन्ने पनि नबुझेका मानिसहरुलाई अझै अप्ठ्यारो भइरहेको सुनाए । ‘व्यक्तिगत लेनदेनको विवादले समाजलाई नै कुरुप बनाउँदैछ, कृपया पैसाको आवश्यकता हुँदा सबैले बैंक वित्तीय संस्थाबाट नै कारोबार गर्नुहुन मेरो अनुरोध छ’ वडाध्यक्षको भनाई थियो ।

संस्थाको सञ्चालक समितिका सदस्य तोयानाथ चापागाईले सञ्चालन गरेको सो साधारणसभा समारोहमा आमन्त्रित अतिथि एवम् सहभागी सदस्यहरुलाई उपाध्यक्ष रामकुमार गौतमले शाब्दिक स्वागत गरेका थिए ।

समारोहमा संस्थाको विशेष उपचार कोषमा आवद्ध सदस्य र तिनको परिवारमा बिरामी भई उपचार गर्दा भएको ४० प्रतिशत खर्च फिर्ता गरिएको थियो । संस्थाको खुदुनाबारी सेवा केन्द्रका सदस्य अयोध्या खतिवडाको छोरा सन्देश खतिवडा अटो दुर्घटनामा परेर घाइते भई उपचारार्थ अस्पताल बसेको १ लाख ३ हजार रुपैयाँ हस्तान्तरण गरियो भने खुदुनाबारीकै अर्का सदस्य लीला भट्टराईलाई २३ हजार ९०० रुपैयाँ प्रदान गरिएको छ ।

साधारणसभा समारोहको दोस्रो सत्रमा गणपुरक संख्या घोषणा गरी पाँचवटै सेवा केन्द्रबाट प्रतिनिधित्व हुनेगरी माइन्युट प्रमाणिकरणका लागि एक–एक जना प्रतिनिधि छनोट गरिएको थियो ।

सो कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक मनकुमार बेघाले समितिको प्रतिवेदन प्रस्तुत गरेपछि दुईवटै प्रतिवेदन माथि छलफल गरिएको थियो ।

सम्बन्धित खबर