२०८१ पौष ८, सोमवार , ०८:५८:३९ बजे

Sajhamanch
'

सरकारी जग्गा अतिक्रमण गरी बनाइएको चेप्टी फनपार्क बन्द

शुक्रवार, कार्तिक ३०, २०८१

बिर्तामोड । सरकारी र सामुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको इलामको माई–२ मा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।

वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदालतको आदेशपछि निर्माणकर्ता आफैँले बन्द गरेको कागज बुझाएको जनाएको छ ।

कार्यालयले आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता झापा कनकाईका दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र कार्यालयलाई बुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताए ।

१३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी २१८ रोपनी जग्गामा ह्याप्पी ड्रिम्प्स चेप्टी प्रालिले करोडौँ रुपैयाँको लगानीमा फनपार्क निर्माण भएको थियो । फनपार्कका नाममा भने ४१ रोपनी जग्गा दर्ता थियो ।

गत वर्ष सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको थियो ।

अख्तियारको पत्राचारपछि वन डिभिजन कार्यालयले सो क्षेत्रको अतिक्रमित जग्गा र पार्कको नामको ४१ रोपनी जग्गा छुट्याएको थियो ।

जग्गा छुट्याएपछि फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले हालेको रिटलाई उच्च अदालत विराटनगर, इलाम इजलासले २०८१ असार २२ गते खारेज हुने फैसला गरेको र फैसलाको पूर्ण पाठ भने आइनसकेको वन डिभिजन कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘अहिले फनपार्कबाट रेखाकंन गरी छुट्याइएको सरकारी तथा सामुदायिक वनको जग्गाको रेखदेख र हेरविचारको खाँचो छ’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘अब अदालतको पूर्णपाठ आएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अघि बढ्छ ।’

शुक्रवार, कार्तिक ३०, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर