काठमाडौं । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । पाराग्वेले अर्जेन्टिनालाई २–१ गोलले हराएको हो ।
लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन । पाराग्वेका एनटोनिओ सानाब्रिआले १९ औं मिनेटमा बराबरी गोल गरे । त्यस्तै ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल थपे ।
पराजित अर्जेन्टिना अङ्क तालिकाको शीर्ष स्थानमा कायमै छ । उसको २२ अङ्क छ । पाराग्वे १६ अङ्कसहित छैटौं स्थानमा छ ।
अर्को खेलमा ब्राजिल र भेनेजुएलाले एक/एक गोलको बराबरी खेलेका छन् । यो नतिजापछि ब्राजिल १७ अङ्कका साथ तेस्रो स्थानमा उक्लेको छ । भेनेजुएला १२ अङ्कका साथ सातौं स्थानमा छ । त्यस्तै अर्को खेलमा इक्वेडरले बोलिभियालाई ४–० गालले हराएको छ ।