काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज यहाँबाट नेपालका लागि प्रस्थान गरेका छन् ।
उनी बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्किनेछन् । उनलाई यहाँस्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गरे ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका हुन् । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।
राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत मङगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए । सो अवसरमा उनले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरे । “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन हुन्न”, राष्ट्रपति पौडेलले भने ।
मंगलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उनका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा भएको भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौँ, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्ने बताए ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधवार यहाँ राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘माउन्टेन इन पेरिल, एडेसिङ लस एन्ड डयामेज इन द हिमालय’ (‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’) शीर्षकको उच्चस्तरीय राउन्ड टेबल बैठकलाई उनले सम्बोधन गरे ।
यस्तै बुधबार नै राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा जलवायु सम्बन्धमा बाकुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकिकृत रुपमा सम्बोधन गर्नुपर्ने बताएका थिए ।
सोही दिन कोप २९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूसँग बाकुमा गरेका सामूहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरूबाट अनुदान उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरसलाई आग्रह गरे ।
यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ ।
कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गरेका थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।