
काठमाडौं । आज सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यस वर्ष सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको सङ्कल्पलाई बलियो बनाउने सन्देशलाई केन्द्रमा राखेर दिवस मनाउन लागिएको हो ।
यसले विश्वभरि कानूनी र नीतिगत पहललाई प्रोत्साहित गर्दै सांस्कृतिक सम्पत्तिको संरक्षणमा सबैको साझा भूमिका रहेको कुरालाई पनि उजागर गर्ने छ ।
दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउने विश्वास गरिएको छ ।
नेपालमा रहेका पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतिक हुन् । तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेकाले संरक्षणमा चुनौति रहेको विज्ञहरु बताउँछन् ।
नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा सरकारले कडा कानूनी नीति र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेकोमा उनीहरुको जोड छ ।