२०८१ माघ १४, सोमवार , ०४:०२:०५ बजे

Sajhamanch
'

आज विश्व मधुमेह दिवस : बालबालिका, ज्येष्ठ नागरिकसहित सबै उमेर समूह जोखिममा

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ ।

मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् ।

नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।

पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको छ । बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा रहेका डाक्टरले बताएका छन् ।

डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरको भनाइ छ ।

मधुमेह हुनबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहने नै रहेको मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सुवर्णध्वज थापाले बताए।

उनले नियमित स्वास्थ्य जाँच गरी डाक्टरको सल्लाह अनुसार जीवनशैली व्यवस्थापन गरे मधुमेहको जोखिम कम गर्न सकिने बताए।

मधुमेहका बिरामीले स्वास्थ्य उपचारमा ध्यान नदिए मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा असर पुग्ने गर्छ ।