२०८१ माघ १९, शनिवार , १०:०७:२९ बजे

Sajhamanch
'

झापामा मंसीर २ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने

बुधवार, कार्तिक २८, २०८१

झापा । जिल्लाका १५ वटै पालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा जिल्लाका १५ वटै स्थानीय तहमा चालू आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो ।

करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी फाउण्डेशनले सो बारे जानकारी दिएको हो । फाउण्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले तीन वर्षे कार्ययोजना बनाएर झापाका १५ वटै पालिकासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका हुन् ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण गरिने वरिष्ठ कार्यक्रम व्यवस्थापक कोइरालाले बताए ।

कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य मदन बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेलले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिएका थिए ।

नवजात शिशु तथा १० वर्षमुनीका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालित छ ।

सो अन्तरक्रिया कार्यक्रममा फाउण्डेशनका झापा जिल्ला संयोजक सञ्जय शर्मा, पालिका संयोजक सुरेन्द्र गिरी, सीबीआर अधिकृत स्नेहा खड्कासहित झापाका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित खबर