२०८१ पौष २५, बिहिवार , ०९:४२:४९ बजे

Sajhamanch
'

यूएईसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तर्गत यूएईसँगको अन्तिम खेलमा नेपालले टस हारेको छ ।

सेभेन्स स्टेडियममा घरेलु टोली यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ । यूएईसँगको पहिलो खेलमा हारेको नेपाललाई १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट हुन आजको खेल निकै महत्त्वपूर्ण छ । नेपालले यूएईलाई हराएर मात्रै पुग्दैन, राम्रो रन रेटमा हराउनुपर्ने हुन्छ ।

चार वटा देश सहभागी प्रतियोगितामा यूएई ५ वटै खेल जित्दै १० अङ्कसहित शीर्ष स्थानमा छ । यूएईको नेट रन रेट ४ दशमलव ७९१५ रहेको छ । नेपाल ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालको नेट रन रेट ४ दशमलव ३३०० रहेको छ ।

यदि यूएईसँग पराजित भएमा १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ । थाइल्यान्ड र कुवेत दुवै टोली विश्वकपमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १०६ रन र पाँचौं खेलमा कुवेतलाई १६५ रनले हराएको थियो ।

प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

सम्बन्धित खबर