२०८१ पौष ८, सोमवार , १०:२८:४९ बजे

Sajhamanch
'

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो

मङ्गलवार, कार्तिक २७, २०८१

बुटवल । सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्‍याइएको छ ।

लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२: २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् । ‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइनेछ’, डीउसपी खनालले भनिन् ।लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ ।कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।
कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई ३ गते पोखरा पुर्‍याइएको थियो । ४ गते अदालतमा पेश गरेपछि उनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

पूर्वगृहमन्त्री लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रुपन्देही प्रहरीले कार्तिक ८ गते जिल्ला अदालतबाट लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ अनुमति लिइसकेको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेलाई यसअघि नै रुपन्देही ल्याएर बयान गरि कास्की पठाई सकिएको छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ ।

२ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। तर लामिछानेले आफूले निवेदन दिएर ऋण माग नगरेको र नलिएको जिकिर गर्दै आएका छन् ।

सम्बन्धित खबर