२०८१ पौष ११, बिहिवार , ०७:२५:४१ बजे

Sajhamanch
'

चौथो खुदुनाबारी गोल्डकप समुद्घाटन : पहिलो खेलमा बिर्तामोडको विजयी सुरुआत

सोमवार, कार्तिक २६, २०८१

अर्जुनधारा । बिर्तामोड नगरपालिकाले चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा विजयी सुरुआत गरेको छ ।

अर्जुनधारा–३ को कैंदले प्राकृतिक रंगशालामा सोमबार भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बिर्तामोड विजयी बनेको हो ।

बिर्तामोडका लागि खेलको दोस्रो हाफको अन्तिम ३ मिनेटमा श्याम मुर्मुले गोल गरे । त्यसपछि दवाबमा परेको अर्जुनधाराले जवाफी गोल फकार्उन नसक्दा हार बेहार्न पुग्यो । खेलमा एक मात्रै गोल गर्न सफल बिर्तामोडका मुर्मु ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाए ।

उनलाई प्रमुख अतिथि अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देन तामाङ, प्रतियोगिताका संयोजक सिताराम भट्टराई र शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापाले पुरस्कार प्रदान गरे ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेका हुन् । प्रतियोगिता अन्तरगत बुधबार हुने खेलमा आयोजक टिमसँग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने आयोजक समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रतियोगितामा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवपसताक्षी, गौरादह, दमक नगरपालिका र इलामको माई नगरपालिकाको एक टिमसहित आयोजकको एक टिम गरेर १० टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार २११ रुपैयाँ र उपविजेताले ५५ हजार ६५५ रुपैयाँ नगदसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

खेल सुरु हुनुभन्दा पहिले सो प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देनले उद्घाटन गरेका थिए । मुख्य रेफ्रीलाई खेल सञ्चालनका लागि बल हस्तनान्तरण गर्दै गोम्देनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । यस्तै बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महत्तरा प्रसाईले पानसमा दिप प्रज्वलन गरेकी थिइन् ।

प्रतियोगिता संयोजक तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले शाब्दिक स्वागत गरेका थिए ।

उद्घाटन समारोहमा संयोजक भट्टराईले खुदुनाबारीको इतिहाससहित गोल्डकप आयोजनालाई समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरे । कैदले प्राकृतिक रङशालाको स्तरउन्नति, युवा पुस्ताहरुलाई खेलक्षेत्रमा प्रोत्साहन दिई व्यवसायिक खेलाडीको रुपमा उत्पादन गर्ने, नगरपालिका–नगरपालिका बीचको भाइचारा सम्बन्ध बढाउने र कैंदले पर्यापर्यटन क्षेत्रको दिगो विकासको लागि बढावा दिने, राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद नाराका साथ खुदुनाबारी गोल्डकपलाई निरन्तरता दिँदै सभ्य र स्वास्थ्य समाज निर्माण गर्ने लगायतका उद्देश्यहरु राखेर प्रतियोगिता आयोजना गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधिसहित खेलप्रेमीहरुको बाक्लो उपस्तिथि रहेको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाका प्रमुखहरुले मन्तव्य राखेका थिए ।