काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सोमबार १३ जनाको उद्धार गरिएको छ ।
उद्धार यात्राका क्रममा सोमबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट १२ जना र चन्द्रागिरी नगरपालिकाबाट १ जना गरी १३ जना सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।
सोमबार उद्धार गरिएका ८ जना पुरुष र ५ जना महिलालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ ।
असोज २८ गते झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २९औँ दिन काठमाडौँमा आइपुग्दा २३१ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।
उद्धार गरिएका मध्ये १७७ जना पुरुष र ५४ जना स्त्री रहेका छन् तीमध्ये ५ बालिका र ४ बालक पनि रहेको जनाइएको छ ।
यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।
उद्धार यात्रामा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।
मानवसेवा आश्रम सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।