२०८१ कार्तिक २८, बुधवार , १२:३५:५९ बजे

Sajhamanch
'

आइतबार काठमाडौँमा १७ जना सडकआश्रित मानवहरुको उद्धार

सोमवार, कार्तिक २६, २०८१

काठमाडौँ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आइतबार काठमाडौँमा १७ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय उद्धार टोली आइतबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौँको वनस्थली, धुम्बाराही, चावहिल, जयबागेश्वरी, गौरीघाट, बौद्ध, बुढानिलकण्ठ लगायतका क्षेत्रमा खटिएको थियो । राति ७ बजेदेखि १० बजेसम्म महानगरका क्षेत्रभित्रका सडकपेटी तथा सार्वजिनक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सडक मानवहरुको उद्धारमा रहँदै दिउँसो ८ जना र राति ९ जना गरि १७ जना सहयोगापेक्षी मानवहरुको उद्धार गरेको हो ।

हिजो आइतबार काठमाडौँबाट उद्धार गरिएका १४ जना पुरुष र ३ जना महिलालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा संरक्षणका लागि राखिएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २८औँ दिन काठमाडौँमा आइपुग्दा २१८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।

मेची– महाकाली उद्धार यात्राको २८औँ दिनको अवधिमा उद्धार गरिएका १६९ जना पुरुष र ४९ जना स्त्री रहेका छन् तीमध्ये ५ बालिका र ४ बालक पनि रहेको जनाइएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

उद्धार सेवामा कलाकार किरण केसीसँगै स्थानीय जनप्रतिनिधि, अभिभावक, महानगर प्रहरी लगायतको सहभागिता थियो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली आज सोमबार पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा सडकआश्रित मानवहरुको उद्धार सेवामा रहने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर