२०८१ पौष १८, बिहिवार , ११:०६:५७ बजे

Sajhamanch
'

विदामा गएका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खतिवडा सरुवा मिलाएर उतै बसे, विभागीय प्रमुखहरुको असहयोग मुख्य कारण !

बुधवार, कार्तिक १४, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकामा करिव ७ महिना काम गरेका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा केही समयका लागि विदा लिएर गएकोमा सरुवा नै मिलाएर बसेको पाइएको छ । नगरपालिकाका विभिन्न शाखाका विभागीय कर्मचारीहरुले असहयोग गरेकै कारण प्रमुख प्रशासकीय अधिकृत खतिवडाले सरुवा लिएर हिड्नु परेको उनका निकटवर्तीबाट जानकारी प्राप्त भएको हो।

त्यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरु पशुपति खतिवडा, गणेश दाहाल र विनोद न्यौपानेले पनि सहज रुपमा काम गर्न नपाएको गुनासो गर्ने गरेका थिए । मिलनसार तर प्रशासनिक काममा कडा स्वभावका खतिवडा चाहिँ बिर्तामोड नगरपालिकाबाटै सेवा निवृत्त भएका हुन् । तर उनले आफ्नो विदाई मन्तब्यमा कर्मचारीहरुको मनोमानी र असहयोगी प्रवृत्तिलाई अन्त्य गर्न घुमाउरो पाराले सुझाव दिएका थिए ।

यसैबीच नगरपालिकाका कर्मचारीहरुको बढ्दो मनोमानीप्रति गुनासो मुखरित भए पछि नगरप्रमुख, उपप्रमुखहरुले चासो व्यक्त गरेको पाइएको छ । कर्मचारीहरुको मनोमानी र आपसी कलहका बारेमा संचारमाध्यममा समेत समाचार आउन थालेपछि त्यस विषयमा चासो राख्दै जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको थाहा भएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शाखा प्रमुखहरुलाई बोलाएर मौखिक स्पष्टीकरण सोधेको समाचार स्रोतले जनाएको छ । प्रशासन, लेखा, शिक्षा, स्वास्थ्य, प्राविधिक लगायतका शाखाका प्रमुखहरुलाई कर्मचारीहरुमा देखिएको समस्या के हो भनेर सोधेको जनाइएको छ ।

त्यसक्रममा कर्मचारीहरुले आफूहरुमा कुनै समस्या नरहेको जवाफ दिएको बताइएको छ । तर पनि नगरपालिकाका कर्मचारीहरुको ठूलो रवैया रहेको छ । एकले अर्काको कुरा नमान्ने, हप्कीदप्की गर्ने, गुटबन्दी गर्ने गरेका कारण प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने अवस्था नरहेको जानकार कर्मचारीले सुनाएका छन् ।

कर्मचारीहरुले गुटगत व्यवहार गर्ने, जनप्रतिनिधिको कुरा नमान्ने, आफूखुशी गर्ने, शाखा–शाखाबीच समन्वय नगर्नेजस्ता प्रवृति हावी भएको चर्चाले बिर्तामोड नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत नआउने हुन् कि भन्ने चिन्ता देखिएको छ ।

हालैका प्रमुख प्रशासकीय अधिकृत खतिवडा सरुवा भएर गएपछि विगत एक महिनादेखि बिर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ भने कार्यालयको प्रशासनिक र आर्थिक कामकाज संचालन हुन नसकेको जनाइएको छ ।

सम्बन्धित खबर