२०८१ पौष ११, बिहिवार , ११:४६:१६ बजे

Sajhamanch
'

निरौलाको हत्यामा संलग्न तीनजना सार्वजनिक

आइतवार, कार्तिक ११, २०८१

विर्तामोड । चर्को दबाबपछि प्रहरीले दमक –९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले मोरङ उर्लाबारी– ६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी– ७ बस्ने ४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी –१० स्थायी ठेगाना भई दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले घटनापछि फरार रहेका दर्जीलाई प्रहरीको विशेष टोलीले हिजो काँकडभिट्टाबाट पक्राउ गरेको जानकारी दिए । घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरुको समेत तदारुकताका साथ खोजतलास भइरहेको डीएसपी चन्दले बताए ।

गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो । निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त र स्थानीयहरुले विगत पाँच दिनदेखि लगातार आन्दोलन गर्दै आएका छन् । मृतकका आफन्त, स्थानीयवासी र जनप्रतिनिधिले दबाब दिएपछि मात्र पीडितको किटानी जाहेरी प्रहरीले दर्ता गरेको बताइएको छ ।जाहेरी दर्ता गरेपनि घटनासँग जोडिएका उर्लाबारी– ६ का प्रकाश कार्की , उर्लाबारी– ७ का ध्रुव गौतम र दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीबाहेक मुख्य आरोपीहरुलाई पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ। मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बूसहित दमक– ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध मृतककी श्रीमती कृष्णमायाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन् । बाँकी चारजना फरार नै रहेका छन् ।

सम्बन्धित खबर