२०८१ कार्तिक १०, शनिवार , ११:०६:०३ बजे

Sajhamanch
'

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका १२ दिनमा १२० जनाको उद्धार

शनिवार, कार्तिक १०, २०८१

बुटवल । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमबाट त्यो संख्यामा सडकआश्रित मानवहरुको उद्धार भएको जनाइएको छ ।

बुटवल उपमहानगरपालिका ९ बाट ५ जना, देवदह नगरपालिकाबाट ७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका ३ बाट २ जना, प्रतापपुर गाउँपालिका २ बाट २ जना गरी १३ जना सडकआश्रित मानवहरुको शुक्रबार उद्धार गरिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

उद्धार गरिएका १२ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम रुपन्देहीको तिलोत्तमा सेवा केन्द्रमा गृह प्रवेश गराइएको जनाइएको छ ।

राष्ट्रिय उद्धार टोली शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमका विभिन्न पालिकाका सडकपेटीमा अलपत्र अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा दिनभर खटिएको थियो ।

राष्ट्रिय उद्धार टोली शनिबार कपिलवस्तु, तौलिहवा, कृष्णनगर क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम तय भएको छ ।

उद्धार यात्राको १२औं दिनसम्ममा १२० जना सहयोगापेक्षी मानवहरुको उद्धार गरिएको छ । उद्धार गरिएका २९ महिला र ९१ जना पुरुषको सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।

सम्बन्धित खबर