२०८१ कार्तिक ७, बुधवार , ०८:३४:३२ बजे

Sajhamanch
'

आठौँ रोलिङ च्यालेन्ज कप २०८१ : आयोजक फाइनलमा प्रवेश

बुधवार, कार्तिक ७, २०८१

मेचीनगर । आयोजक रोलिङ क्लब धुलाबारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोर्टिङ क्लब विराटनगर माथि ३–१ गोल अन्तरको सहज जीत निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो ।

खेलको १५औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल गर्दै खेललाई अग्रता दिएका थिए । त्यस्तै, ३२औँ मिनेटमा सम्राट स्पोर्टिङले पाएको पेनाल्टीलाई दोर्जे तामाङले सदुपयोग गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

रोलिङ क्लबका गोल रक्षक अभिषेक बरालले विपक्षी खेलाडीलाई पेनाल्टी एरियामा फाउल गरेपछि सम्राटले पेनाल्टी प्राएको थियो ।

यसैगरी खेलको ३६औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै २–१ को अग्रता दिलाए । अनन्त तामाङको प्रहार विपक्षी डिफेन्सले क्लियर गर्न नसक्दा अभिषेकले मौकाको सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५३औँ मिनेटमा भुवन बस्नेतले गोल रक्षकलाई बिट गर्दै गरेको प्रहारलाई गोललाइनबाट प्रशान्त लक्समले क्लियर गरेका थिए ।

यसैगरी खेलको ५९औँ मिनेटमा आयोजक रोलिङले पाएको पेनाल्टीलाई उत्सव राइले जाली चुमाउँदै खेललाई ३–१ को अग्रता दिलाएका थिए । पेनाल्टी एरियामा सम्राटका अशोक खबासले उत्सवलाई फाउल गरेपछि पेनाल्टी प्राप्त गरेको थियो ।

खेलको ६२औँ मिनेटमा सम्राटका दोर्जे तामाङले निकालेको क्रस पासलाई भुवन बस्नेतले जाली चुमाउन नसक्दा अग्रता घटाउनबाट चुकेको थियो ।

अधिकांश राष्ट्रिय खेलाडी मैदान उतारेको रोलिङले कात्तिक १० गते शनिबार हुने फाइनल खेलमा भोलि बिहीबारको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भोलि हुने अन्तिम समिफाइनल खेल मानेभन्ज्याङ फुटबल क्लब दार्जीलिङ र रेडहर्स इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिएका छन् ।

आजको खेलको प्लेयर अफ द म्याच रोलिङका प्रकाश लक्सम घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई मेचीनगर नगरपालिकाका सामाजिक विकास अधिकृत अनन्त प्रकाश वस्ती, क्लबका पूर्व अध्यक्ष महेन्द्र लिम्बू, मेचीनगर ९ का वडा अध्यक्ष कन्चन तामाङ लगायतले नगद तथा ट्रफी प्रदान गरेका छन् ।

सम्बन्धित खबर