२०८१ कार्तिक ७, बुधवार , १२:११:१६ बजे

Sajhamanch
'

‘सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाई बदल्नुपर्दछ’ : मुख्यमन्त्री कडेल

मङ्गलवार, कार्तिक ६, २०८१

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट विनियोजित बजेट जसरी खर्च गरे पनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् ।

आज रुकुम पश्चिम जिल्लाको मुसिकोटमा आयोजित नेकपा (एमाले)को कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कडेलले यस्तो बताएका हुन् ।

‘सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने जुन धारणा छ, त्यसलाई अब बदलौं, धारणा बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिँदैन’ मुख्यमन्त्री कडेलको भनाई थियो ।

योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना बैंक वा क्रमशः कानून बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै मुख्यमन्त्री कडेलले पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृत्तिलाई आफनो नेतृत्वको सरकारले रोक्ने धारणा राखेका हुन् ।

सरकारी योजना छनौट गर्दा जनताले राहत महशुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरी योजना छान्ने प्रवृत्तिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कंडेलको धारणा थियो ।

परिर्वतित सन्दर्भमा शक्ति र शासन देखाएर सत्ता टिकाउने जामाना गइसकेको बताउँदै मुख्यमन्त्री कडेलले बजेट ल्याइदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिएका थिए ।

‘बजेटको कुरा गरेर जनतालाई क्षणिक रुपमा अल्मल्याउन सकिन्छ होला तर राम्रो नीति र कानून बनाउँदा त्यसको लाभ दीर्घकालीन रुपमा सबै नागरिकले पाउछन र सरकारप्रति भरोसा पनि बढ्छ’ एमाले कार्यकर्ताहरुलाई मुख्यमन्त्री कडेलको सुझाव थियो।

सम्बन्धित खबर