२०८१ कार्तिक ६, मङ्गलवार , ०७:३७:११ बजे

Sajhamanch
'

रोलिङ च्यालेन्ज कप २०८१ : रेडहर्स सेमिफाइनलमा

मङ्गलवार, कार्तिक ६, २०८१

मेचीनगर । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेडहर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेडहर्स एफसीले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

रेडहर्सले टाइब्रेकरमा पुलिसलाई ३–१ गोल अन्तर हराएको हो । यसअघि भएको संघर्षपूर्ण निर्धारित समयमा दुवै टोलीबीच १–१ गोलको बराबरी भएको थियो ।

खेलको २०औँ मिनेटमा पुलिसका रमेश राजवंशीले पहिलो गोल गर्दै अग्रता दिलाए पनि खेलको ७५औँ मिनेटमा रेडहर्सका प्रदिप बुढाथोकीले गोल फर्काएर स्थिति बराबरीमा ल्याएका थिए ।

खेलको प्लेयर अफ द म्याच रेडहर्सका गोल किप्पर तथा कप्तान विवेक मगर भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेचीनगरका युवा तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, खेलप्रेमी राजन चिमरियालगायतले नगद तथा ट्रफी प्रदान गरे ।

फाइनल प्रवेशका लागि भोलि आयोजक रोलिङ क्लब र विराटनगरको सम्राट स्पोर्टिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

सम्बन्धित खबर