काठमाडौं । लागातर दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से २५ दशमलव ८८ अङ्कले बढेर २ हजार ६६५ दशमलव ८१ अङ्कमा पुगेको छ । हिजो र अस्ति दुई दिनमा गरी नेप्से १०५ अङ्कले घटेको थियो ।
आज सबै समूहको शेयर मूल्य बढेकोमा फाइनान्स समूहको शेयर तीन प्रतिशत भन्दा धेरैले बढ्यो । आज रावा इनर्जी डेभलेपमेन्ट लिमिटेडको शेयर आठ प्रतिशत भन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज वीन नेपाल लघुवित्त र कालिका लघुवित्तको शेयर मूल्य चार प्रतिशत भन्दा धेरैले घटेको छ ।
बजार बढेपछि हिजोको तुलनामा आज कारोबार रकम भने घटेको छ । हिजो पाँच अर्ब ९० करोड रुपैयाँमा कारोवार भएकोमा आज ३१४ वटा कम्पनीका एक करोड नौ लाख ६२ हजार कित्ता शेयर चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।