२०८१ कार्तिक ६, मङ्गलवार , ११:१७:४८ बजे

Sajhamanch
'

जापानिज इन्सेफ्लाइटिबाट एक बालकको मृत्यु

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । जापानिज इन्सेफ्लाइटिस रोगबाट उदयपुरमा एक बालकको ज्यान गएको छ भने अर्का एकको उपचार भइरहेको छ।

गत साउनदेखि विराट मेडिकल कलेज विराटनगरमा उपचार गराइरहेका त्रियुगा नगरपालिका ३ मोतिगडाका ११ वर्षीय अनमोल राईको उपचारकै क्रममा सोमबार बिहान ज्यान गएको हो।

क्युलेस जातको लामखुट्टे (जसलाई सेतो लामखुट्टे पनि भनिन्छ) को टोकाइबाट यो रोग लाग्ने गर्दछ। उनलाई करिब तीन महिनाअघि सेतो जातको लामखुट्टेले टोकेको थियो।

उनलाई पटक–पटक ज्वरो आउने, बेहोस हुने जस्तो लक्षण देखिएको थियो। उपचारका क्रममा विराट मेडिकल कलेजमा जापानिज इन्सेफ्लाइटिस रोग लागेको पत्ता लागेको थियो। उपचार नियमित भइरहे पनि उनको मस्तिष्कभित्रको नशाको पानी सुकेपछि मृत्यु भएको बताइएको छ।

कक्षा ५ मा अध्ययनरत बालकको अकल्पनीय मृत्युमा विद्यालयले मंगलबार शोक बिदा दिएको स्टान्डर्ड भिजन एकेडमी स्कुलका प्रबन्ध निर्देशक नवराज ठकुरीले बताए। अस्पतालका अधिकृत प्रमेशराज देवकोटाले सोमबार बिहान २ बजेतिर जापानिज इन्सेफ्लाइटिसका कारण अनमोलको मृत्यु भएको पुष्टि गरे।

उनीसँगै सोही रोगबाट बिरामी भएका बेलका नगरपालिका ६ का १४ वर्षीय सायल राईको उपचार भइरहेको बताइएको छ। उनी दुई महिना अघिदेखि सोही अस्पतालमै रोगसँग जुझिरहेको परिवारले जनाएको छ। उनलाई भेन्टिलेटरका राखेर उपचार गराइएको छ।

उपचारमा १६ लाख बढी खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक स्रोत नभएका भन्दै परिवारले सहयोगको याचना गरेको छ। काका राजकुमार राईका अनुसार अस्पतालले रोग प्रतिरोधात्मक क्षमता अनुसार उपचारमा भर पर्ने जानकारी दिएकाले अझै कति दिन राख्नु पर्ने हो यकिन छैन।

‘बिरामी आँखा हेर्न सक्ने अवस्थामा रहे पनि शरीरका कुनै पनि भाग चल्न सकेको छैन,ु उनले भने, ‘बिरामी पछि कस्तो हुन्छ भन्ने कुरा डाक्टरले भन्न सकेका छैनन्। बिरामीको शक्ति बढ्दै गए रोगलाई जित्न सके छिटै रिकभर हुन सक्छ भनेका छन्।ु

मङ्गलवार, कार्तिक ६, २०८१ | मिडियाबाट साभार, समाज