२०८१ कार्तिक ४, आइतवार , ०४:४९:३४ बजे

Sajhamanch
'

मेचीनगरमा तरकारी खेती प्रवर्द्धनका लागि २७ लाख रुपैयाँको किसान लक्षित कार्यक्रम

आइतवार, कार्तिक ४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले तरकारी खेती प्रवर्द्धनका लागि किसान लक्षित कार्यक्रम ल्याएको छ ।

तरकारी खेती प्रवर्द्धनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि तरकारी पकेट विकास कार्यक्रम (कार्यविधि अनुसार कार्यान्वयन हुने गरी) १२ लाख रुपैयाँ तथा आलु खेती प्रवर्द्धन कार्यक्रम (लागत सहभागिता २५ प्रतिशत)का लागि १५ लाख बजेट विनियोजन गरी कार्यक्रममा सहभागी हुन लक्षित वर्गलाई आह्वान गरेको हो ।

मेचीनगरको चालु आव २०८१/८२ को स्वीकृत वार्षिक नगर विकास योजना अन्तर्गत प्रदेश तथा संघीय सशर्त अनुदान तर्फको २७ लाख बजेटबाट किसान तथा कृषि फर्महरूलाई आलु तथा तरकारी खेतीतर्फ व्यवसायिकता प्रदान गर्न कार्यक्रम अगाडि सारिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार आलु खेती प्रवर्द्धन कार्यक्रम मेचीनगर ७, १२, १४ र १५ नम्बर वडामा सञ्चालन गरिनेछ । सो कार्यक्रममा सहभागी हुन कम्तिमा ५ हेक्टरको क्लस्टर र क्लस्टरमा प्रति किसान कम्तिमा ५ क‌ट्ठा आलु लगाउनु पर्नेछ ।

त्यस्तै तरकारी पकेट विकास कार्यक्रमका लागि सबै वडाका कृषक, कृषक समूह, कृषि फर्म/कम्पनी तथा कृषि सहकारी संस्थाले सहभागिता जनाउन पाउने छन् । सो कार्यक्रमका लागि क्लस्टरमा कम्तिमा २० हेक्टर तरकारी बाली लगाइएको हुनपर्ने उनको भनाई छ ।