२०८१ कार्तिक ४, आइतवार , ०४:३३:०५ बजे

Sajhamanch
'

दुधे मिनी महोत्सवको आयव्यय सार्वजनिक, बचत रकम सार्वजनिक शौचालय निर्माणमा खर्चिइने

आइतवार, कार्तिक ४, २०८१

शिवसताक्षी । स्थानीय बजार व्यवस्थापन समितिले प्रथम दूधे मिनी मेलाको आयव्यय सार्वजनिक गरेको छ । बजार समितिले पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो ।

मिनी मेलामा बजार समितिले १६ लाख आम्दानी गरेर विभिन्न शीर्षकमा ६ लाख रुपैयाँ खर्च भई १० लाख खुद बचत रहेको स्थानीय दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

गएको आश्विन १८ गतेदेखि २९ गतेसम्म दूधे बजारको हाटबजार लाग्ने स्थानमा मिनी महोत्सवको आयोजना गरिएको थियो ।

आयोजक दूधे बजार व्यवस्थपान समितिले मेलाबाट बचत भएको ५ लाख रकम दूधे बजारमा सुविधा सम्पन्न शौचालय निर्माणमा छुट्याएको छ । त्यस्तै बजार भित्रको सडक बत्ती महसुल, मर्मत र खरिदमा २ लाख ५० हजार, हाटबजार भित्रको जीर्ण अवस्था रहेको राम मन्दिरलाई पुनःनिर्माणका लागि १ लाख, बिहीबारे हाटमा बस्नको लागि स्टिलको कुर्सी व्यवस्थापनका लागि ६० हजार रकम छुट्याइएको अध्यक्ष थोप्राले जानकारी दिए ।

हप्तामा विहीबारका दिन ठूलो हाट लाग्ने दूधे बजारमा सार्वजनिक शौचालय नहूँदा व्यापारी, ग्राहक लगायत टाडाबाट आउने आगन्तुकहरुलाई समेत समस्या पर्दै आएको छ । शौचालय निर्माणका लक्ष्य राखेर मिनी मेलाको आयोजना गरिएको समेत अध्यक्ष थोप्राको भनाई छ ।

थोप्राका अनुसार बचत रकम शौचालय निर्माणमा अपुग भए पनि शिवसताक्षी नगरपालिका, स्थानीय व्यापारीलगायतको सहयोग लिएर सुविधा सम्पन्न शौचालय निर्माणका लागि कार्यक्रम अघि बढाइने छ ।

शौचालय निर्माणका लागि बजार भित्र जग्गा व्यवस्थापन भइसकेको छ । बजार समितिले दूधे बजारको पूर्व पश्चिम बस स्टेण्डको आसपास पनि सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजी गरिरहेको समितिले जनाएको छ ।

दूधे स्थानीय बजार व्यवस्थापन समितिले मिनी मेलाको साथसाथै दुर्गा पूजाको समेत आयोजना गरेको थियो । जसबाट खर्च कटाएर ६ हजार ४०० रुपैयाँ बचत भएको जनाइएको छ । उक्त बचत रकम बजार समितिको खातामा जम्मा गरिएको दूधे स्थानीय बजार व्यवस्थापन समितिका कोषाध्यक्ष तथा दुर्गा पूजाका संयोजक मुना बिमलीले जानकारी दिइन् ।

दुई वर्ष अघि दूधे स्थानीय बजार व्यवस्थापन समिति नयाँ नेतृत्व आएपछि बजार विकास लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित खबर