२०८१ कार्तिक ४, आइतवार , ०७:१३:४१ बजे

Sajhamanch
'

रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिने

आइतवार, कार्तिक ४, २०८१

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालत पेस गरिने भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ ।

म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई शनिबार बिहान करिब पौने तीन बजे पोखरा पुर्‍याइएको थियो। पोखरा पुर्‍याएलगत्तै उनलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो। कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर उपाध्यक्षहरु स्वणिर्म वाग्ले र डीपी अर्यालय तथा लामिछानेपत्नी निकिता पौडेलले लामिछानेलाई भेटेका थिए।

सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो।संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो।

समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो।उक्त सिफारिसपछि गत असोज ६ गते नै पक्राउ परेका जोशी अहिले थुनामा छन्। लामिछानेलाई उनका व्यावसायिक साझेदार जोशी पक्राउ परेको मितिले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ।

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, कार्तिक ४, २०८१
एमालेको सचिवालय बैठक बस्दै
आइतवार, कार्तिक ४, २०८१