२०८१ कार्तिक ३, शनिवार , ०७:२४:३२ बजे

Sajhamanch
'

नागरिक एपमा नै सवारी लाइसेन्स, मोबाइलमै देखाउन मिल्ने, कार्ड आवश्यक नपर्ने

शनिवार, कार्तिक ३, २०८१

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र र ट्राफिक जरिवाना भुक्तानी प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको जानकारी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक मार्फत नयाँ व्यवस्थाबारे जानकारी दिइएको छ ।

नयाँ व्यवस्था अनुसार सवारी चालक अनुमति पत्रको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक पर्ने छैन । यसको साटो नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुनेछ । यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको प्रधानमन्त्री ओलीले स्टाटसमा उल्लेख गरेका छन् ।

यसैगरी, सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित स्थानमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको छ । यसले सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट पनि हट्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो नयाँ व्यवस्था भोलि आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा सुरु हुनेछ । सरकारले नागरिक एपमा अन्य सेवाहरू पनि थप्ने तयारी गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो स्टाटसमा लेखेका छन्, ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ ।’

यो नयाँ डिजिटल प्रणालीले सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बन्धित खबर