२०८१ कार्तिक २, शुक्रवार , ०७:५७:२९ बजे

Sajhamanch
'

फिदिमका नगरप्रमुख र उपप्रमुखको घरका जोडिएको खानेपानीका धारा काटिनु कति उचित ?

बुधवार, असोज ३०, २०८१

पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेका घरमा जोडिएका खानेपानीका धारा काटिएको छ ।

फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ नेतृत्वको टोलीले मंगलबार बिहान नगरप्रमुख काफ्ले र उपप्रमुख न्यौपानेका घरमा जोडिएका धारा काटिदिएको हो ।

खानेपानी उपभोक्ता समितिलाई आवश्यक पर्ने बजेट नगरपालिकाले उपलव्ध नगराएको आरोपमा नगरप्रमुख र उपप्रमुखको घरमा जोडिएको धारा उपभोक्ता समितिका अध्यक्ष कै रोहबारमा काटिएको जनाइएको छ ।
नगरपालिकाले खानेपानी उपभोक्ता समितिलाई आवश्यक बजेट उपलब्ध नगरएको आरोप अध्यक्ष गुरुङको छ ।

‘असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको पहिरोले ठाउँ(ठाउँमा खानेपानीका पाइपलाइन बगाएर क्षति पुर्‍यायो, बैकल्पिक मुहानको खोजी गरेर सदरमुकाममा पानी ल्याएका छौं, यो बेला नगरपालिकाबाट पर्याप्त सहयोग नपाएपछि मेयर उपमेयरका घरको धारा काटिदिएका हौं’ अध्यक्ष गुरुङले भने ।

गुरुङ नेतृत्वको समितिले केही दिन अघि फिदिम नगरपालिकामा जडान गरिएको खानेपानी पनि काटिदिएको थियो । तर कार्यालयमा भने सेवाग्राही प्रभावित हुने देखिएकाले धारा पुनः जोडिदिने गुरुङले बताए ।

‘खानेपानी मुहानदेखि मुल ट्याङ्कीसम्म ८ ठाउँमा पहिरो गएको छ, २२ सय मिटरभन्दा धेरै पाइप लाइन क्षति भएको छ, क्षति भएका स्थानमा पाइपलाइनको व्यवस्थापन नगरपालिकाले गरिदिनुपर्छ भन्ने हाम्रो माग हो’ गुरुङले भनेका छन् ।

फिदिम नगरपालिकाले भने फिदिम खानेपानीलाई सहयोग नगरेको भन्ने आरोप पुर्वाग्रही भएको जनाएको छ । ‘खानेपानी मर्मत सम्हारका लागि वर्सेनी बजेट छुट्याउँदै आएका छौं, यो वर्ष पनि ट्यांकी मर्मतका लागि ५ लाख रुपैयाँ बिनियोजन भएको छ, नगरपालिकाले सहयोग गरेन भन्ने बहानामा मेयर र उपमेयरका घरका धारा काट्नु कहाँसम्म न्यायोचित हो ?’ उपप्रमुख न्यौपानेले भने ।

सम्बन्धित खबर