२०८१ कार्तिक १, बिहिवार , ०८:५१:४७ बजे

Sajhamanch
'

६९औँ प्रहरी दिवस झापामा विशेष कार्यक्रम गरी मनाइयो

बुधवार, असोज ३०, २०८१

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६९औँ प्रहरी दिवसका दिन आज चन्द्रगढीमा विशेष कार्यक्रमको आयोजना गरेर प्रहरीका आश्रित परिवारहरू, उत्कृष्ट प्रहरी कर्मचारीहरु तथा अन्य योगदानकर्तालाई सम्मान गरेको छ ।

मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्तिनाथ पौडेल, सामुदायिक सेवा केन्द्र चन्द्रगढीका सचिव खड्गबहादुर बुढाथोकी, साना हात नेपालका अध्यक्ष विक्रम वाग्ले, मानव अधिकारका लागि एकल महिला समूहका अध्यक्ष रेखा अधिकारी र इस्ट होराइजन अंग्रेजी माविका प्रिन्सिपल सन्दीप राईलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् । झापामा यस वर्षको उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक सन्तोष राईलाई र प्रहरी सहायक हवल्दार उत्तम कटवाललाई पुरस्कृत गरिएको छ ।

यसैगरी, ८५ वर्षमाथिका ज्येष्ठ पूर्वप्रहरी कर्मचारी हिक्मतबहादुर लामालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरियो भने प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त कदरपत्र पूर्वप्रहरी सहायक निरीक्षक अमरबहादुर लिम्बूलाई प्रदान गरियो । लिम्बूले प्रहरी चौकी थेचुम्बु ताप्लेजुङको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए ।

६९औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमसमेत भएको थियो । रक्तदानमा १५ जनाले रगत दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाँस्तोला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्वप्रहरी संगठन झापाका मदनगोपाल सुब्बा लगायतले मन्तव्य राखेका थिए ।

प्रहरी नायव उपरीक्षक तथा झापाका प्रवक्ता कृष्णकुमार चन्दले शाब्दिक स्वागत गरेको कार्यक्रममा प्रहरी उपरीक्षक केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले गरेकी थिइन् ।

सम्बन्धित खबर