२०८१ असोज ३०, बुधवार , ०५:०५:०० बजे

Sajhamanch
'

मध्य दसैंमा लगातार मोटरसाइकल दुर्घटना, भद्रपुर, शिवसताक्षी र मेचीनगरका पाँचको मृत्यु

आइतवार, असोज २७, २०८१

झापा । दशैंको महत्वपूर्ण दिनहरुमा झापाका विभिन्न स्थानमा सवारी साधन दुर्घटना भई मृत्युवरण गर्नेक्रम आज पनि जारी रह्यो । तीन दिन पहिले भद्रपुरका दुई युवक गुमाएको झापाले गएराति केर्खामा दुईजना र आज बिहानै मेचीनगर–७ इटाभट्टामा एक साइकल यात्रीको मृत्यु भएको हो ।

झापा प्रहरीका अनुसार आज बिहान ६ः३० बजेतिर मेचीनगर–७ इटाभट्टास्थित एनएमसी डेरी अगाडि काँकरभिट्टतर्फ जाँदै गरेको मेची क्राउनमा काम गर्ने मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बुले चलाएको प्र. ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक मेचीनगर ७ बस्ने अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकल यात्री राजवंशी, मोटरसाइकल चालक लिम्बू, मोटरसाइकलमा पछाडी सवार मेचीनगर–६ बस्ने २१ वर्षीय रमेश श्रेष्ठ तीनै जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि बिर्तामोडको बी एण्ड सी अस्पताल ल्याइएकोमा राजवंशीको उपचारकै क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक र पछाडि सवार दुवै जनाको उपचार भइरहेको छ । दुवैजनाको टाउको,शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कमल गाउँपालिका ४ मा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । पूर्वपश्चिम राजमार्गको अमलडाँगी खण्डमा मोटरसाइकल सवार दुर्वजनाको दुर्घटनामा मृत्यु भएको हो।

मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका वडा न. ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर