२०८१ पौष ९, मङ्गलवार , ०३:०७:३४ बजे

Sajhamanch
'

आज फूलपाती, दशैंको रौनकता बढ्दै

बिहिवार, असोज २४, २०८१

झापा । बडादशैंको सातौ दिन आज फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधि अनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । यसैलाई फूलपातीको रुपमा लिने गरिएको छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।

‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भनेका छन् ।

फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

हनुमानढोकामा यस वर्षको फूलपाती बिहीबार अपराह्न भित्राइने कार्यक्रम रहेको छ । फूलपाती लिन बुधबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालयले जनाएको छ ।

विहीबार बिहान जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरिन्छ । स्वयम्भूबाट जमलको दशैंघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्राइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालयहरु पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ-आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

गाउँहरूमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैंको रौनकलाई अझ बढाउने गर्दछ । यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ ।