२०८१ असोज ३०, बुधवार , ०४:२७:२८ बजे

Sajhamanch
'

रामजानकारी साकोसको साधारण सम्पन्न : उत्कृष्ट सदस्यहरू र कर्मचारीहरूलाई सम्मानसहित पुरस्कार प्रदान 

मङ्गलवार, असोज २२, २०८१

बिर्तामोड । बिर्तामोडस्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा माइन्युट प्रमाणीकरण गर्दै आज मंगलबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडमा माइन्युट प्रमाणीकरण साधारण सभा सम्पन्न भएको हो । असोज २० गते संस्थाले इकाइस्तरमा साधारण सभा सम्पन्न गरी आज छानिएर आएका प्रतिनिधिहरूले बिर्तामोडमा आयोजित कार्यक्रममा माइन्युट प्रमाणीकरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष राजवंशीले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति विवरण एवं २०८१/०८२ का लागि निर्धारण गरिएको योजना तथा कार्यक्रमहरू वाचन गरेर सुनाएका थिए।

जसअनुसार संस्थाको सेयर पूँजी २ करोड ५ लाख ३५ हजार ६०० रुपैयाँ पुर्याइएको छ। जुन गत आर्थिक वर्षको भन्दा ८ दशमलव ५२ प्रतिशतले न्यून हुन गएको छ।

यस्तै संस्थाले गत असार मसान्तसम्म २१ करोड ४४ लाख ७२ हजार ९९५ रुपैयाँको निक्षेप मौज्दात गरेको छ भने सदस्यहरु माझ २२ करोड ४३ लाख ५९ हजार ९१४ रुपैयाँ ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ।

भीमप्रसाद राजवंशी

समीक्षा अवधिमा संस्थाको जगेडा कोषमा १ करोड २७ लाख १ हजार ११४ रुपैयाँ जम्मा भएको छ भने संस्थाले विभिन्न क्षेत्रमा १३ लाख २३ हजार १४४ रुपैयाँ लगानी गरेको जनाइएको छ।

संस्थासँग ७३ लाख ८६ हजार ५९ रुपैयाँको स्थिर सम्पत्ति रहेको छ भने गत असार मसान्तमा संस्थाको कुल सम्पत्ति अर्थात् वासलात २५ करोड २ लाख ३९ हजार २०६ पुर्याइएको जनाइएको छ।

स्थापना कालमा २९ जना बाट १ लाख ४१ हजार रुपैयाँ सङ्कलन गरी सञ्चालनमा ल्याइएको सो सहकारीले १६ वर्षको अवधिमा ९ हजार ९७३ जना शेयर सदस्य बनाएको छ । संस्थाको कार्यक्षेत्र झापाको शिवशताक्षी नगरपालिकाभन्दा पूर्वका भूगोलहरूमा विस्तार गरिएको छ।

संस्थामा आठवटा सेवा केन्द्रहरू रहेका छन् भने करिब ६० जना कर्मचारीहरु कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ। समीक्षा वर्षमा संस्थाले करिब २ लाख रुपैयाँ हाराहारी मुनाफा गरेको जनाइएको छ।

साधारण सभा समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै जिल्ला संघका अध्यक्ष ढकालले सहकारीप्रति विश्वासको गहिरो खाडल छ भन्ने भाष्य सिर्जना गरेर अभियान नै खराब हो भन्ने बनाउन खोजिए पनि वास्तविकता यस्तो नरहेको जिकिर गरे ।

गणेश ढकाल

उनले भने आमसञ्चार माध्यमहरूमा प्रकाशन प्रसारण भएका सामग्रीहरूलाई मात्र अध्ययन गर्ने हो भने अभियान ध्वस्त भइसकेको बुझिन्छ तर वास्तविकता यस्तो होइन ३० हजार सहकारी संस्था क्रियाशील रहेको मुलुकमा ३० वटा संस्थामा समस्या हुनुलाई समग्र अभियान नै खराब भएको बताउनु गलत रहेको उनको तर्क छ।

सहकारी संस्थाहरूमा कारोबार रकमको भन्दा सदस्यसँग कारोबारीहरूको तुलना गरिनुपर्ने आवश्यकता औल्याउँदै संघका अध्यक्ष ढकालले भने ऋण रकम ठूलो देखिन सक्छ तर सदस्य संख्या सानो भयो भने मापदण्ड अनुसार भएको मानिँदैन यसर्थ सानो सानो लगानी धेरै संख्यामा गर्नु नै अभियानको उद्देश्य रहने सुझाव दिए । सहकारीमा ऋणको अङ्क नभई ऋणी सदस्यको संख्या तुलना गरिने भएकाले कम्तीमा ३० प्रतिशत सदस्यहरूलाई ऋण लगानी गर्ने गरीको वातावरण बनाउन अध्यक्ष ढकालले सुझाव दिए ।
श्रीराम जानकीको वासलात सेवा केन्द्रको सङ्ख्या र कर्मचारीहरूको सङ्ख्या अनुपात गर्दा नमिलेको महसुस भएकाले सेवा केन्द्रहरू मर्ज गर्ने र कर्मचारीहरूलाई टार्गेट दिएर काममा खटाउने तर्फ सञ्चालक समितिले सोच्न ढिला गर्न नहुने उनको सुझाव छ ।

सो समारोहमा मन्तव्य राख्दै जिल्ला बचत तथा ऋण सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले संस्थाको वित्तीय विवरणहरू माथि गहिरो समीक्षात्मक टिप्पणीसहित आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

उनले सहकारीमा पल्स विश्लेषणको महत्वपूर्ण मान्यता हुने बताउँदै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले अनिवार्य रुपमा यसको मापदण्ड पूरा गर्नुपर्ने भनाई राखेका थिए ।

साधारण सभा समारोहमा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले सहकारीमा सदस्यहरूले आफ्नो बचतको सुरक्षाको प्रत्याभूति खोजिरहेकोले जुन संस्थाले आफ्नो बचत फिर्ता मागेको दिन पाउँछ त्यो संस्था सक्षम छ भन्ने अनुमान गर्न सकिने बताए । सस्थाले यदि फिर्ता गर्न सक्दैन भने सहकारी बन्द गर्न उनको सुझाव थियो।

यस्तै आजका दिनमा सहकारीमा सदस्य बन्नेहरुले सुविधाको पनि महत्व बुझेकाले संस्थाले सुविधाको फराकिलो मापदण्ड बनाउन सक्यो भने मात्रै सहकारी फस्टाउने उनको भनाइ थियो ।

सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष घनश्याम पौडेल र सुनकोशी साकोसका अध्यक्ष गङ्गाराम ओडारीले सहकारी अभियानका विभिन्न पक्षहरूबारे धारणा राखेका थिए।

समारोहमा संस्थामा नियमित एवं उत्कृष्ट कारोबार गर्ने सदस्यहरू र कर्मचारीहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कृत हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ रञ्जितकुमार राजवंशी कामाटोली, सुस्मिता खतिवडा शनिश्चरे, जरिना खातुन चन्द्रगढी र उमादेवी सुवेदी माइधार रहेका छन्।

यसैगरी उत्कृष्ट कर्जा कारोबारी सदस्यहरूमा बिर्तामोडका निर्मला राई, सुरुङ्गाका कल्पनादेवी गुरुङ, हल्दीबारीका रत्नमाया तामाङ र चकचकीका वीरबहादुर सापकोटा रहेका छन्।

संस्थाले यो वर्ष कामाटोलीका क्यासियर सबिनाकुमारी तामाङ र सुरुङ्गाका बजार प्रतिनिधि लता भट्टराईलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत र सम्मानित गरेको छ।

संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले सञ्चालन गरेको साधारण सभा समारोहमा आमन्त्रित अतिथि एवं सहभागी सेयर सदस्यहरूलाई संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर