२०८१ पौष २४, बुधवार , ०१:१९:०० बजे

Sajhamanch
'

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

मङ्गलवार, असोज २२, २०८१

सुनसरी । वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु. १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये ९३५ हेक्टरको धान नष्ट हुँदा रु. ८ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी ५१० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८.२५ हेक्टर नष्ट हुँदा रु. ३७ लाख मूल्य बराबरको क्षति भएको छ ।

सागसब्जी तरकारी ८ हजार १५३ हेक्टरमा लगाइएकामा ३५४ हेक्टर नष्ट हुँदा रु. ४ करोड ५२ लाख बराबरको क्षति भएको छ । उखु ५ हजार ८७७ हेक्टरमा लगाइएकामा १२४ हेक्टरमा नष्ट हुँदा रु. २ करोड ८० लाख बराबरकोको क्षति भएको जनाइएको छ ।

जुट १ हजार ३०८ हेक्टरमा लगाइएकामा ९७ हेक्टरमा नष्ट हुँदा रु. १० लाख ४८ हजार बराबरको क्षति भएको अधिकृत श्रेष्ठले जानकारी दिए ।

सुनसरीमा सबैभन्दा बढी देवानगञ्ज, कोशी, भोक्राह नसिङ्ग गाउँपालिका र इनरुवा नगरपालिकामा क्षति भएको छ । सूचना अधिकारी श्रेष्ठले भने, “क्षति विवरण सङ्कलन गरिरहेका छौँ । सबै पालिकामा पत्र पठाइसकेका छौँ । आउने क्रम जारी छ ।”

सम्बन्धित खबर