२०८१ पौष ८, सोमवार , ०७:०५:५३ बजे

Sajhamanch
'

फ्रिजमा कुहिएको मासु भेटिएपछि दमकको पलेँटी रेष्टुरेन्ट एण्ड दोहोरी साँझ सिल

आइतवार, असोज २०, २०८१

दमक । दमक नगरपालिकाको अनुगमन टोलीले वडा नं. ८ मा सञ्चालित पलेँटी रेष्टुरेन्ट एण्ड दोहोरी साँझमा कुहिएको मासु (अखाद्य चिज) भेटिएपछि होटल नै सिल गरिदिएको छ ।

टोलीले आज दमकमा गरेको अनुगमनका क्रममा उक्त होटलको फ्रिजमा राखेको मासु कुहिएको, भान्सा कोठा फोहोर रहेको, खानेकुरामा अखाद्य रंग मिसाइएको, मानव स्वास्थ्यलाई असर गर्ने अमिलोको प्रयोग गरेको पाइएको थियो ।

नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रेगिना भट्टराईको नेतृत्वमा इलाका प्र्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसद चापागाईं, इलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

सो होटलमा कुहिएको मासुसहितका अखाद्य बस्तु पाइएपछि नगर उपप्रमुख रेगिना भट्टराईको निर्देशनमा दोहोरी साँझमा सिल गरिएको नगरपालिकाले जनाएको छ ।

मानव स्वास्थ्यलाई असर गर्ने गरी होटल सञ्चालन गरेको पाइएकोले होटललाई तत्काल सिल गरी सञ्चालकलाई नगरपालिकामा सम्पर्क गर्न निर्देशन दिइएको नगर उपप्रमुख भट्टराईले बताएकी छन् । अब होटललाई जरिवाना तिराएर सञ्चालन गर्न दिने कि पूरै बन्द गराउने भन्ने निर्णय नगरपालिकाबाट गरिने पनि उनले बताइन् ।

नगरपालिकाले निरन्तर बजार अनुगमन गरिरहेको भन्दै उनले नियम विपरित काम गरी मानव स्वास्थ्यमा खेलबाड गर्ने कसैलाई छुट नदिइने प्रष्ट पारेकी छन् । अनुगमन टोलीले आज दमक ५ मा रहेको होटल स्वर्गलोक, थकाली किचन र होटल कामाक्षाको समेत अनुगमन गरेको थियो ।

होटल स्वर्गलोकमा अखाद्य रंग मिसावट गर्ने गरेको पाइएकोले एक पटकको लागि चेतावनी दिइएको छ भने थकाली किचन र होटल कामाक्षा मापदण्ड अनुसार नै सञ्चालनमा रहेको पाइएको इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिए ।

सम्बन्धित खबर