२०८२ जेठ ८, बुधवार , ०९:२७:४९ बजे

Sajhamanch
'

नेपालमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुँदै, ५० देशका ८०० प्रतिनिधि सहभागी हुने

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियन जनसाङ्ख्यिक सम्मेलन हुने भएको छ ।

सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका ८०० प्रतिनिधि सहभागी हुने विभागका प्रमुख प्राडा योगेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

Aशुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यो सम्मेलन नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४०० भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए ।

विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक, आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्याका अवसर र चुनौतीहरू आदिमा केन्द्रित रहेर कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको छ । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने जानकारी दिए ।

जनसङ्ख्या संरचनामा भइरहेको स्थानान्तरणले विश्वसँगै नेपालले पनि विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिका बारेमा पुनर्विचार गर्न सरकारलाई पर्याप्त पृष्ठपोषण प्रदान गर्ने हाम्रो विश्वास रहेको प्राडा गुरुङले बताए ।

चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुने हरेक व्यक्तिले दर्ता शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने, दर्ता शुल्क ७ हजार, १० हजार र १३ हजार कायम गरिएको छ ।

कार्यक्रमका लागि हालसम्म दक्षिण एशिया बाहेकका देशबाट १०० जना, दक्षिण एशियाबाट १७० जना र नेपालबाट १०० जना सहभागीहरुले नाम दर्ता गराएको विभागका सह प्राध्यापक एवं सम्मेलनमा सदस्य सचिव पद्म प्रसाद खतिवडाले जानकारी दिए ।

सम्मेलनमा एसियामा भविष्यमा जनसङ्ख्या गतिशिलताका चुनौतीहरु, प्रजनन क्षमता, प्रजनन स्वास्थ्य र प्रजनन अधिकार, जनसङ्ख्या र अर्थव्यवस्था जनसांख्यिकी लाभांश र श्रम बजार, जनसांख्यिकीय विश्लेषणको लागि डिजिटल प्रविधि लगायतका विभिन्न थिममा कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

सम्बन्धित खबर