
काठमाडौं । यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् ।
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एअरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।
श्री एअरलाइन्सले पनि आजदेखि काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। कम्पनीले शुरूमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।
यति एअरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौं–भद्रपुर–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौंमा समान एक उडान थपेको छ ।
साथै आजदेखि काठमाडौं–जनकपुर–काठमाडौं गन्तव्यमा एक उडान थपिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको हो ।