२०८१ पौष ६, शनिवार , १२:०१:०१ बजे

Sajhamanch
'

शिक्षा बहुउद्देश्यीय सहकारीले सातवटा व्यावसायिक परियोजना सञ्चालनमा ल्याउने

बुधवार, असोज १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बुधबार माइन्युट प्रमाणीकरण गर्दै सम्पन्न भएको छ ।

असोज ९ गतेदेखि इकाइगत साधारणसभा सुरु गरेको संस्थाले आज माइन्युट प्रमाणीकरण गरेको हो । सो अवसरमा उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मान गर्दै पुरस्कृत गरिएको थियो ।

माइन्युट प्रमाणीकरण सभामा संस्थाका दुईजना कर्मचारीहरु, उत्कृष्ट अंकसहित कक्षा १२ उत्तीर्ण दुई जना छात्रछात्राहरु, तथा संस्थाका उत्कृष्ट प्रवर्धकलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपाने, सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बू, कार्यक्रमका प्रमुख अतिथि केशब बस्नेत लगायतले माला लगाएर सम्मान पत्र र पुरस्कार प्रदान गरेका हुन् ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित साधारण सभामा उनले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष न्यौपानेले २०८१ असार मसान्तको वित्तीय अवस्था एवम् चालू आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रमहरु वाचन गरे ।

प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष २०८१/०८२ का लागि ४ करोड ९६ लाख ४६ हजार ७७६ रुपैयाँको आय–व्यय अनुमान गरिएको छ भने विभिन्न सात वटा व्यावसायिक परियोजना सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्मको संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७, बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२, १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

माइन्युट प्रमाणीकरण सभाका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेतले मन्तब्य राख्दै अभावको समयमा विश्वमा सहकारी अभियानको जन्म भएको र नेपालका लागि यो अभियान सान्दर्भिक रहेको बताए ।

सहकारीमा उत्पन्न हुने समस्याहरु बाहिरबाट पठाइएको नभई संस्था भित्रैबाट सुरु हुने प्रष्ट्याउँदै बस्नेतले तीनै तहका सरकारले सहकारीमा आएको समस्याका विषयमा छलफल गरिरहेको पनि सुनाएका थिए ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको माइन्युट प्रमाणीकरण साधारण सभा समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सञ्चालक समिति सदस्य चिजा राईले शाब्दिक स्वागत गरेकी थिइन् ।

साधारणसभामा संस्थाका उपाध्यक्ष तथा ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन वाचन गरेका थिए । यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज निरौला लेखा समितिको प्रतिवेदन वाचन गरे ।

संस्थाले असोज ९ गते धुलाबारीमा, असोज १० गते धाइजनमा, असोज ११ गते शनिश्चरेमा, असोज १२ गते चैतुबारीमा इकाइगत साधारणसभा सम्पन्न गरेको थियो । आज बिर्तामोड सेवा केन्द्रको इकाइगत साधारणसभा पछि माइन्युट प्रमाणीकरण गरिएको हो ।

सम्बन्धित खबर